वीरगञ्ज, कार्तिक १४
प्याब्सन वीरगञ्ज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय प्रथम भएको छ। प्रतियोगितामा गुरुकुल एकेडेमी दोस्रो र द रोयल एकेडेमी तेस्रो भएका छन्।
शनिबार द रोयल एकेडेमीमा सम्पन्न प्रतियोगितामा २५ विद्यालयका १८४ जना विद्यार्थीले नेपाली तथा अंग्रेजी हस्तलेखन विधामा प्रतिस्पर्धा गरेका थिए। कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई चार समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको थियो।
प्याब्सन पर्साका उपाध्यक्ष एवं कार्यक्रम संयोजक वीरेन्द्र यादवको संयोजनमा सम्पन्न प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो हस्तलेखन प्रतिभा प्रदर्शन गरेका थिए।
प्रतियोगितामा विभिन्न समूह र विधामा प्राप्त स्थानका आधारमा प्रथमलाई ५, द्वितीयलाई ४, तृतीयलाई ३, चौथोलाई २ र पाँचौँ स्थान हासिल गर्नेलाई १ अंक प्रदान गरिएको थियो। सोही अंकका आधारमा तयार गरिएको विद्यालयगत समग्र नतिजामा साउथ जोन माध्यमिक विद्यालयले ३५ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। त्यसैगरी, २० अंकसहित गुरुकुल एकेडेमी दोस्रो र १७ अंकसहित द रोयल एकेडेमी तेस्रो भएका छन्।
प्रतियोगिताको समूह ‘ए’ अर्थात् कक्षा १ देखि ३ सम्मको नेपाली हस्तलेखन विधामा साउथ जोनकी आरोही पटेल प्रथम, गोल्डेन फ्युचर माध्यमिक विद्यालयका रोशन साह द्वितीय र गुरुकुल स्कुलकी सेजल कुशवाहा तृतीय भए। अंग्रेजी हस्तलेखनतर्फ गुरुकुल एकेडेमीका निर्बिक साहनी प्रथम, साउथ जोनकी काजल प्रजापति द्वितीय र मुनलाइट माध्यमिक विद्यालयकी सोनम ठाकुर तृतीय भए।
समूह ‘बी’ अर्थात् कक्षा ४ र ५ को अंग्रेजी हस्तलेखन विधामा साउथ जोनका एमडी जैद अन्सारी प्रथम, गुरुकुल एकेडेमीका सृजल जायसवाल द्वितीय र द रोयल एकेडेमीकी मानवी चौहान तृतीय भए। नेपाली हस्तलेखनतर्फ साउथ जोनकी अनुष्का सिंह प्रथम, गुरुकुल एकेडेमीकी अनुष्का यादव द्वितीय र विद्यासदन माध्यमिक विद्यालयकी साहिन खातुन तृतीय भए।
समूह ‘सी’ अर्थात् कक्षा ६ देखि ८ सम्मको नेपाली हस्तलेखन विधामा विद्यासदन माध्यमिक विद्यालयकी खुश्बु पण्डित प्रथम, मस्कट एकेडेमीका सिद्धार्थ प्रसाद यादव द्वितीय र साउथ जोनकी सोनाली चौरसिया तृतीय भए। अंग्रेजी हस्तलेखनतर्फ द रोयल एकेडेमीकी खुशी गुप्ता प्रथम, साउथ जोनका आदित्य कुमार चौरसिया द्वितीय र गौतम माध्यमिक विद्यालयकी समृद्धि कुश तृतीय भए।
त्यस्तै, समूह ‘डी’ अर्थात् कक्षा ९ र १० को अंग्रेजी हस्तलेखन विधामा साउथ जोनका नितेश गौरो प्रथम, विद्यासदन माध्यमिक विद्यालयका आयान अन्सारी द्वितीय र लिटिल एन्जल्स स्कुलकी रञ्जना दास तृतीय भए। नेपाली हस्तलेखनतर्फ द रोयल एकेडेमीकी परिशी दास प्रथम, साउथ जोनकी अंशिता कुमारी यादव द्वितीय र विद्यासदन माध्यमिक विद्यालयकी अञ्जली यादव तृतीय भए।
प्रतियोगिताको नतिजा सोही दिन सार्वजनिक गरी सहभागी विद्यार्थीहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो। उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई भने कार्तिक १५ गते आयोजना हुने चित्रकला प्रतियोगिताको समापन समारोहमा ट्रफी तथा मेडल प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष एवं कार्यक्रम संयोजक वीरेन्द्र यादव, सचिव अशोक संग्रौला, प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, सदस्य विजय बल, पूर्व सचिव सन्नी पाख्रिन तथा द रोयल एकेडेमीकी प्रिन्सिपल विजया ओझैयालगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिता सञ्चालनका लागि स्थल उपलब्ध गराएर सहयोग गरेको भन्दै आयोजकले द रोयल एकेडेमीप्रति विशेष आभार व्यक्त गरेको छ।
यसै कार्यक्रमअन्तर्गत कार्तिक १५ गते चित्रकला प्रतियोगिता सञ्चालन गरिनेछ। उक्त प्रतियोगितापछि हस्तलेखन तथा चित्रकला दुवै विधाका विजेताहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।



