वीरगञ्ज । वीरगञ्जस्थति गौतम माध्यमिक विद्यालयको आयोजनामा विद्यालयको ५०औँ स्वर्ण जयन्ती वर्षको अवसर पारेर ‘जीएसएस मोडल युनाइटेड नेसन्स (जीएसएस एमयूएन) ६.०’ कार्यक्रम सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजका करिब १४० विद्यार्थी सहभागी भएका छन् ।
विद्यार्थीहरूमा नेतृत्व क्षमता, कूटनीतिक सोच, तार्किक अभिव्यक्ति, अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी ज्ञान तथा विश्वव्यापी समस्याको समाधान खोज्ने सीप विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रमको उद्घाटन बुधवार वीरगञ्जस्थित विद्यालयको सिनियर विङ अडिटोरियम हलमा गरिएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गौतमले विद्यार्थी जीवन व्यक्तित्व विकास, ज्ञान आर्जन र नेतृत्व क्षमता अभिवृद्धि गर्ने महत्त्वपूर्ण समय भएको बताए । उनले यस्ता कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक ज्ञान, आत्मविश्वास र आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने क्षमता विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।
उनले संयुक्त राष्ट्र सङ्घको नमुना अभ्यासजस्ता कार्यक्रमले विद्यार्थीलाई विभिन्न देशका नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा समसामयिक विश्वव्यापी समस्याबारे बुझ्ने अवसर प्रदान गर्ने उल्लेख गरे । बहस, छलफल र संवादमार्फत समस्याको समाधान खोज्ने अभ्यास विद्यार्थीका लागि महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।
कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा केन्द्रित रहेर ६ वटा समिति गठन गरी छलफल तथा बहस सञ्चालन भइरहेको छ । सहभागी विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिको भूमिका निर्वाह गर्दै निर्धारित कार्यसूचीमाथि धारणा प्रस्तुत गर्ने, प्रश्न उठाउने र कूटनीतिक संवादमार्फत समाधानका उपाय खोज्ने अभ्यास गरिरहेका छन् ।
कार्यक्रमको निरस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिमा मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रमा देखिएको राजनीतिक र सुरक्षा अस्थिरताबारे छलफल भइरहेको छ । त्यस्तै, संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा रणनीतिक पहिलो प्रहार प्रतिरोधात्मक सुरक्षा हो वा आक्रमण भन्ने विषयलाई छलफलको कार्यसूची बनाइएको छ ।
महिला अधिकारसम्बन्धी समितिमा महिला तथा किशोरीहरूको मानव बेचबिखन र यौन शोषण रोकथामका उपायबारे छलफल भइरहेको छ । मानव अधिकार परिषद्मा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकार र राज्यको अधिकारबिच सन्तुलन कायम गर्ने, डिजिटल अभिव्यक्ति स्वतन्त्रता तथा राष्ट्रिय सुरक्षाको नाममा असहमतिका आवाज दबाउने प्रवृत्तिलगायतका विषयमा बहस भइरहेको छ ।
यसैगरी, आर्थिक तथा वित्तीय समितिमा सार्वभौम ऋणका चुनौती सम्बोधन गर्न र विश्वव्यापी वित्तीय स्थायित्व प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय सहयोग सुदृढ बनाउने विषयमा छलफल भइरहेको छ । अन्तर्राष्ट्रिय प्रेस समितिमा भने खुला कार्यसूचीअन्तर्गत विभिन्न विषयमा छलफल तथा सञ्चारसम्बन्धी अभ्यास सञ्चालन गरिएको छ ।
समितिमार्फत विद्यार्थीहरूले अन्तर्राष्ट्रिय राजनीति, सुरक्षा, मानव अधिकार, महिला अधिकार, विश्व अर्थतन्त्र तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने अवसर पाएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेशनल इन्फोटेक कलेजका निर्देशक मनिष सिंह, डीएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्र, मधेस मिडिया काउन्सिलका सदस्य नीरज पिठाकोटे मगर तथा देश मधेस डटकमका सञ्चारकर्मी अभिलाष गुप्तालगायतको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रशासन प्रमुख रमेश शर्मा, सहायक प्रधानाध्यापक ललित कर्ण, सौरज प्रधान, एल्भिन रेन्जर, जुनियर संयोजक सिपेन्द्र गुप्ता, रोयल एकेडेमीका उपाध्यक्ष सुमन श्रेष्ठलगायत शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
विद्यालयका निर्देशक सोनम लामाका अनुसार विद्यार्थीहरूमा नेतृत्व क्षमता, कूटनीतिक सोच, तार्किक अभिव्यक्ति, अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान तथा विश्वव्यापी समस्याको समाधान खोज्ने सीप विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
उनले यस्ता कार्यक्रमले विद्यार्थीलाई आफ्नो प्रतिभा, क्षमता र विचार प्रस्तुत गर्ने मञ्च प्रदान गर्नुका साथै आत्मविश्वास, सहकार्य र निर्णय क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विद्यालयकी प्रबन्ध निर्देशक परीक्षा पिया लामा र निर्देशक सोनम लामाको विशेष उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरी अतिथि तथा सहभागीलाई स्वागत गरेका थिए ।
विद्यालयको ५०औँ स्वर्ण जयन्ती वर्षलाई विशेष र स्मरणीय बनाउने उद्देश्यसहित आयोजित तीन दिने यस कार्यक्रमले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको छलफल, बहस, अनुसन्धान र कूटनीतिक अभ्यासको अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।



