वीरगञ्ज , कार्तिक १८
नेपाली काँग्रेसका नेता विजय सर्राफले स्थानीय तहका नागरिकसँग प्रत्यक्ष भेटघाट तथा छलफललाई निरन्तरता दिएका छन् । यसैक्रममा उनले आज दोस्रो दिन वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा पुगेर नगरवासीसँग भेटघाट तथा चिया संवाद कार्यक्रमलाई अघि बढाएका छन् ।
भेटघाट कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा आयोजित चिया संवादमा सर्राफले स्थानीयवासी तथा पार्टीका कार्यकर्तासँग छलफल गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव सुनेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि कृति सिंह, मिन्टु सिंह, मनोज पटेल, विनोद चौरसिया, शेख आलमलगायत नेता तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।
छलफलका क्रममा स्थानीयवासीहरूले विगत दुई कार्यकालमा महानगरको नेतृत्वबाट अपेक्षाअनुसार विकास निर्माण तथा जनताका समस्या समाधान हुन नसकेको गुनासो राखेका थिए । उनीहरूले आगामी दिनमा स्थानीय समस्या र आवश्यकतालाई प्राथमिकता दिने नेतृत्वको अपेक्षा व्यक्त गर्दै सर्राफप्रति समर्थन जनाएका थिए ।
स्थानीयका गुनासा तथा सुझाव सुनेपछि काँग्रेस नेता सर्राफले आफूले अवसर पाएमा जनताका आधारभूत समस्या समाधान, विकास निर्माण र नगरवासीका आवश्यकतालाई प्राथमिकतामा राखेर प्रतिबद्धताका साथ काम गर्ने बताएका थिए ।
नगरवासीसँग प्रत्यक्ष संवाद गरी स्थानीय आवश्यकता र जनगुनासा बुझ्ने उद्देश्यले भेटघाट कार्यक्रमलाई निरन्तरता दिइएको सर्राफको सचिवालयले जनाएको छ ।


