पर्साको पटेर्वा सुगौली गाउँपालिकामा अवस्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको श्री श्री १०८ श्री दुधेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिको २०औँ साधारण सभाको उद्घाटन सत्र शनिवार सम्पन्न भएको छ।
पटेर्वा सुगौली–२ स्थित बेलवा थारु अतिथि सदनमा समितिका अध्यक्ष अलखदेव प्रसाद थारुको अध्यक्षतामा सम्पन्न सभामा मन्दिर संरक्षण, व्यवस्थापन, पूर्वाधार विकास, धार्मिक पर्यटन प्रवर्द्धन तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको हो।
सभामा आजीवन सदस्य, स्थानीयवासी, भक्तजन, धार्मिक अभियन्ता, समाजसेवी तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले दुधेश्वरनाथलाई पूजाआजामा मात्र सीमित नराखी धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, वन्यजन्तु र स्थानीय संस्कृतिलाई जोडेर व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
वक्ताहरूले पर्सा राष्ट्रिय निकुञ्जको पहाडी क्षेत्रमा रहेको मन्दिर आसपासको प्राकृतिक वातावरणलाई पर्यटनसँग जोड्न सकिने बताएका थिए। हरियाली जंगल, प्राकृतिक वातावरण, तालतलैया, नदी तथा विभिन्न वन्यजन्तु र चराचुरुङ्गीको अवलोकन गर्न सकिने भएकाले आवश्यक पूर्वाधार निर्माण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने उनीहरूको धारणा थियो।
जंगल क्षेत्रमा होमस्टे र होटल सञ्चालनको योजना
मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनसँगै प्रकृति तथा वन्यजन्तु पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब १२ किलोमिटर जंगल क्षेत्रमा होमस्टे, होटल, कटेज, खाजा–नास्ता तथा पूजा सामग्रीका पसल सञ्चालन गर्ने योजनाबारे छलफल गरिएको छ।
स्थानीय समुदायलाई पर्यटनसँग प्रत्यक्ष रूपमा जोडेर रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले होमस्टे तथा अन्य पर्यटन व्यवसाय सञ्चालन गर्ने योजना अघि सारिएको हो। पर्यटक तथा भक्तजनको बसाइ लम्ब्याउन सके स्थानीय उत्पादन, कृषि उपज, घरेलु सामग्री तथा स्थानीय सेवाको बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, मन्दिर तथा आसपासका प्राकृतिक क्षेत्रको भ्रमणलाई आकर्षक बनाउन जिप तथा हात्ती सफारी सञ्चालन गर्ने योजनामाथि समेत छलफल भएको छ। धार्मिक कार्यक्रमसँगै वर्षैभरि पर्यटक आकर्षित गर्ने गरी प्राकृतिक तथा पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
सडकदेखि केवलकारसम्मको योजना
मन्दिरसम्म पुग्ने सडक तथा यातायात पूर्वाधारलाई पनि प्राथमिकतामा राखिएको छ। भविष्यमा चर्भैया पोस्टबाट करिब ७ किलोमिटर दूरीमा रहेको मन्दिरसम्म सुविधासम्पन्न ग्राभेल सडक निर्माण गर्ने योजना अघि सारिएको छ।
दीर्घकालीन योजनाअन्तर्गत मन्दिरसम्म पुग्न केवलकार निर्माण गर्ने सम्भावनाबारे समेत छलफल गरिएको छ। सडक तथा केवलकारजस्ता पूर्वाधार विकास हुन सके टाढाबाट आउने भक्तजन तथा पर्यटकलाई आवतजावतमा सहजता हुने र क्षेत्रको पर्यटन गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस्ता योजना कार्यान्वयनका लागि स्थानीय तहसँगै प्रदेश तथा संघीय सरकार र सम्बन्धित निकायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका थिए। मन्दिरको संरक्षणसँगै आसपासको प्राकृतिक वातावरण संरक्षणलाई पनि समान प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले दुधेश्वरनाथ मन्दिरलाई धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न गाउँपालिकाले आवश्यक पहल तथा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अध्यक्ष चौधरीले गाउँपालिकाको स्तरबाट गर्न सकिने कामसँगै प्रदेश तथा संघीय सरकारका सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनका लागि पहल गरिने बताउनुभयो।
कार्यक्रममा मेला समितिका संस्थापक अध्यक्ष राजेश्वर महतो, समिति सदस्यहरू सम्भु यादव, मनोज यादव तथा शिक्षक शिवनाथ चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्व संरक्षण गर्दै भावी पुस्तासम्म यसको पहिचान कायम राख्नुपर्नेमा जोड दिएका थिए।
सो अवसरमा मन्दिर निर्माण, संरक्षण तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएका आजीवन सदस्य तथा विभिन्न सरोकारवालालाई सम्मानसमेत गरिएको थियो।
साधारण सभा विश्वजित प्रसाद थारुले सञ्चालन गर्नुभएको थियो। सभाले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले उद्घाटन सत्रपछि समिति गठन तथा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको थियो।
मेला समिति सदस्य तथा मन्दिर व्यवस्थापनका आजीवन सदस्य एवं सञ्चारकर्मी प्रमोद यादवका अनुसार नयाँ नेतृत्व चयनको प्रक्रिया अबेर रातिसम्म चल्ने बताइएको थियो।
दुधेश्वरनाथ मन्दिर क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके पटेर्वा सुगौली गाउँपालिका हुँदै समग्र पर्सा जिल्लाको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ। धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, वन्यजन्तु, स्थानीय संस्कृति तथा समुदायको सहभागितालाई एकीकृत गर्दै पर्यटन पूर्वाधार विकास गर्न सके दुधेश्वरनाथ क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने सहभागीहरूको धारणा थियो।



