सातोमाई मन्दिरमा नवरात्रिको तयारी तीव्र, कलश स्थापना तथा पूजा कार्यक्रम भव्य बनाउने तयारी

Spread the love

वीरगञ्ज , असोज १८

वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित सातोमाई मन्दिरमा नवरात्रिको अवसरमा हुने कलश स्थापना तथा पूजा कार्यक्रमको तयारी तीव्र पारिएको छ। कार्यक्रमलाई भव्य, व्यवस्थित र धार्मिक वातावरणमा सम्पन्न गर्ने उद्देश्यले स्थानीयवासीको सहभागितामा गाउँ भेला सम्पन्न भएको हो।

नवरात्रि पूजा समितिका अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा सम्पन्न भेलामा कलश स्थापना, पूजा व्यवस्थापन, मन्दिर परिसरको सरसफाइ तथा अन्य आवश्यक तयारीका विषयमा छलफल गरिएको थियो।

भेलामा संविधानसभा सदस्य बिचारी यादव, वडा अध्यक्ष अवधकिशोर कुशवाहा, वडा सदस्य कान्तिदेवी, समितिका उपाध्यक्ष लोकनारायण यादव, कोषाध्यक्ष राकेशकुमार साह, पूर्वअध्यक्ष जगारनाथ दासलगायत स्थानीय अगुवा तथा सर्वसाधारणको सहभागिता थियो।

भेलाले प्रत्येक कलश स्थापना गर्ने भक्तजनले पण्डितलाई ७ सय ५१ रुपैयाँ, हजामलाई १ सय ५० रुपैयाँ र मालोरिनलाई १ सय रुपैयाँ दिने निर्णय गरेको समितिले जनाएको छ।

स्थानीयवासीको सामूहिक सहभागिता र सहयोगमा सातोमाई मन्दिरमा हरेक वर्ष नवरात्रि पर्व श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदै आएको छ। यस वर्ष पनि पूजा तथा कलश स्थापना कार्यक्रमलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न तयारीलाई तीव्रता दिइएको समितिले जनाएको छ।

Scroll to Top