वीरगंज , असोज १४
नेपाली कांग्रेसले वीरगञ्ज महानगरपालिकाको बुधबार आयोजित २१औँ विशेष नगरसभामा सहभागी नहुन आफ्ना पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई ह्वीप जारी गरेको छ। तर, कांग्रेसको निर्देशनका बाबजुद नगरसभामा आवश्यक बहुमतभन्दा बढी सदस्य सहभागी भएका छन्।
नेपाली कांग्रेस पर्साका सचिव दिनेश चौधरीले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै बुधबार हुने विशेष नगरसभामा सहभागी नहुन पार्टीबाट निर्वाचित उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूलाई निर्देशन दिएका हुन्।
यद्यपि, कांग्रेसले नगरसभा बहिष्कार गर्न निर्देशन दिए पनि होटल पुजनमा सुरु हुन लागेको सभामा समाचार तयार पार्दासम्म १५६ जना नगरसभा सदस्यमध्ये १०२ जना सहभागी भइसकेका थिए।
मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेका अनुसार नगरसभामा सहभागी सदस्यको संख्या अझै बढ्ने क्रम जारी थियो। कांग्रेसबाट निर्वाचित केही नगरसभा सदस्यसमेत पार्टीको निर्देशनविपरीत सभामा उपस्थित भएका छन्।
बजेट परिवर्तनका लागि विशेष नगरसभा
मेयर राजेशमान सिंह निलम्बनमा रहेका बेला उपमेयर इम्तियाज आलमको नेतृत्वमा महानगरपालिकाको बजेट तयार गरिएको थियो। पछि विशेष अदालतबाट सफाइ पाएर पदमा फर्किएपछि मेयर सिंहले उक्त बजेट खारेज गर्दै विशेष नगरसभामार्फत नयाँ बजेट ल्याउने निर्णय गरेका थिए।
सोही निर्णयअनुसार बुधबार २१औँ विशेष नगरसभा आयोजना गरिएको हो।
मेयर सिंहले विशेष नगरसभाबाट महानगरका सबै नगरवासीको आवश्यकता र हितलाई समेट्ने गरी बजेट निर्माण गरिने बताएका छन्।




