गिभ नेपाल संस्था द्वरा निःशुल्क स्वास्थ्य शिविर वीरगंजमा सफलतापूर्वक सम्पन्न

Spread the love

वीरगंज, १७ साउन 

 वीरगंज महानगरपालिका–१७ मा आज गिभ नेपाल संस्था (NGO) को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। स्वास्थ्य सेवा पहुँचयोग्य बनाउने र जनमानसमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको शिविरमा करिब १५० जना स्थानीयवासीले सहभागिता जनाएका थिए।

शिविरमा डाक्टर तथा विशेषज्ञहरूको टोलीले सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप मापन, मधुमेह परीक्षण, दाँत तथा आँखाको परीक्षण जस्ता सेवाहरू प्रदान गरेका थिए। परीक्षणका क्रममा २० जनामा मधुमेह, २३ जनामा दाँतसम्बन्धी समस्या, ३४ जनामा उच्च रक्तचाप र ४३ जनामा आँखासम्बन्धी समस्या देखिएको जानकारी आयोजकले दिएका छन्।

शिविरलाई प्रभावकारी बनाउन चिकित्सक टोलीसँगै स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीयवासीको सक्रिय सहयोग उल्लेखनीय रहेको गीभ नेपाल संस्थाले जनाएको छ। स्थानीयवासीहरूले विशेषगरी ग्रामीण तथा आर्थिक रूपमा कमजोर वर्गलाई लक्षित गरी गरिएको यो पहलबाट आवश्यक सेवा सजिलै प्राप्त भएको भन्दै सन्तोष व्यक्त गरेका छन्।

शिविरले समुदायमा स्वास्थ्यप्रति चासो बढाउनुका साथै प्राथमिक स्वास्थ्य परीक्षणको पहुँच विस्तारमा योगदान पुर्‍याएको छ।

Scroll to Top