धोबीनी गाउँपालिका–३ का युवाहरुको बजेट पारदर्शिताका माग

Spread the love

पर्सा — धोबीनी गाउँपालिका वार्ड नं ३ का स्थानीय युवाहरुले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा विनियोजित बजेट तथा त्यसको खर्च विवरण सार्वजनिक गर्न माग गर्दै एक लिखित निवेदन पेस गरेका छन्।

स्थानीय युवा नेता सलमान अहमदको अगुवाइमा युवाहरुले आइतबार वार्ड कार्यालय पुगेर उक्त निवेदन बुझाएका हुन्। उनीहरूले निवेदनमार्फत पारदर्शिता, जवाफदेहिता र विकास योजनामा स्थानीय सहभागिताको सुनिश्चितताका लागि खर्च विवरण सार्वजनिक गर्न आग्रह गरेका छन्।

निवेदन बुझ्दै गर्दा युवा नेता अहमदले भने, “हामीलाई हाम्रो वार्डमा आएको बजेट कहाँ, कसरी खर्च भयो भन्ने जानकारी हुनु आवश्यक छ। जनप्रतिनिधिले विकासबारे स्पष्टता दिनुपर्छ।”

जवाफमा वार्ड अध्यक्ष राजकिशोर प्रसाद कुर्मीले निवेदनको अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने र तीन दिनभित्र सूचना तथा खर्च विवरण सार्वजनिक गर्ने आश्वासन दिएका छन्।

युवाहरुले छिटोभन्दा छिटो सार्वजनिक सुनुवाइको मिति तय गरी वित्तीय विवरण सार्वजनिक गर्न माग समेत गरेका छन्। यसअघि पनि गाउँपालिकास्तरमा बजेट पारदर्शिताबारे सवाल उठ्दै आएको थियो।

स्थानीय युवाहरुको यो पहलले भविष्यमा उत्तरदायित्व र पारदर्शिताको संस्कार निर्माणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Scroll to Top