पर्सा जेठ २१
अर्जुन चौधरी
पर्सा जिल्लाको भेडियाहीस्थित नेशनल मेडिकल कलेज र वीरगन्ज महानगरपालिका अन्तर्गतका ३२ वटै वडाबीच स्वास्थ्य उपचार सेवा तथा सुविधा उपलब्ध गराउने सम्झौता बुधबार सम्पन्न भएको छ।
नेशनल मेडिकल कलेजको सभा हलमा आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका सबै वडाका वडा अध्यक्षहरू र कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारी बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार, वीरगन्ज महानगरपालिकाका सिफारिस प्राप्त सेवाग्राहीहरूलाई निम्नलिखित स्वास्थ्य सेवा शुल्कमा छुट प्रदान गरिनेछ:
ओपिडी टिकट: २५ प्रतिशत छुट
जेनरल बेड चार्ज: १५ प्रतिशत छुट
आईसीयू, एनआईसीयू, पीआईसीयू बेड चार्ज: ५ प्रतिशत छुट
जेनेरल लाप्रोस्कोपिक तथा इन्डोस्कोपिक सेवा: ८ प्रतिशत छुट
प्याथोलोजी परीक्षण: १० प्रतिशत छुट
भिडियो एक्सरे, एक्सरे, ईसीजी, इन्डोस्कोपी: ७ प्रतिशत छुट
सिटी स्क्यान, एमआरआई: ७ प्रतिशत छुट
फार्मेसी (ओपीडी): १० प्रतिशत छुट
फार्मेसी (आईपीडी): १५ प्रतिशत छुट
छुट प्राप्त गर्नका लागि सम्बन्धित वडा कार्यालयको लेटरप्याडमा सिफारिस आवश्यक हुनेछ।
सम्झौतामा, हरेक तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गर्ने पनि सहमति भएको छ।
कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक सहनवाज अन्सारीले यो सम्झौता एक वर्षका लागि लागू हुने र आवश्यक परे दुवै पक्षको सहमतिमा परिमार्जन गर्न सकिने जानकारी दिए।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका अधिकांश वडा अध्यक्षहरूको उपस्थिति थियो। वडा अध्यक्षहरूले यस दिनलाई “एतिहासिक दिन”को रूपमा उल्लेख गर्दै गरीब, असहाय नागरिकलाई गुणस्तरीय उपचारमा सहज पहुँच हुने विश्वास व्यक्त गरे।
नेशनल मेडिकल कलेजकी निदेशक डा. ईसरत जहान अन्सारीले पनि सम्झौताप्रति खुसी व्यक्त गर्दै गाउँदेखि सहरसम्मका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन्।
सो अवसरमा कलेजका मार्केटिङ र एडमिशन डाइरेक्टर आबिद हुसेन, एकेडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, कलेजका प्रधानाध्यापक प्रो. डा. केएन सिंह तथा विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति थियो।
सम्झौताले वीरगन्जवासीका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नमा नयाँ ढोका खोलेको छ।



