वीरगञ्ज। पुष १
हिन्दु सम्राट् नेपाल पर्सा जिल्ला समितिले विद्यालय तथा शैक्षिक संस्थामा हिजाब र बुर्का प्रयोगमा प्रतिबन्ध लगाउन माग गरेको छ। समितिले सबै विद्यार्थीका लागि एउटै प्रकारको युनिफर्म अनिवार्य गर्नुपर्ने धारणा राख्दै यसले विभेदको अवस्था अन्त्य गर्ने विश्वास व्यक्त गरेको छ।
सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर समितिले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा विद्यार्थीहरू देशका भावी कर्णधार भएकाले विद्यालयमा समान पोसाक नीति लागू हुनुपर्ने उल्लेख गरिएको छ। समितिका अनुसार धर्मका आधारमा फरक–फरक पोसाक प्रयोगले विद्यार्थीबीच विभाजन र विभेदको अवस्था सिर्जना गर्न सक्छ।
समितिकी प्रतिनिधि वन्दना शर्माले विद्यालयमा हिन्दु र मुस्लिम छात्राहरूका लागि अलग–अलग पोसाक हुनु उपयुक्त नभएको बताइन्। “विद्यालयमा सबै विद्यार्थीका लागि एउटै युनिफर्म हुनुपर्छ। यदि हाम्रो माग सुनुवाइ भएन भने हामी आन्दोलनमा उत्रन बाध्य हुनेछौँ,” उनले भनिन्।
यसैगरी, समितिले क्रिसमस पर्वका अवसरमा हिन्दु विद्यार्थीहरूलाई जबर्जस्ती सेन्टाक्लसको पोसाक लगाउन बाध्य नपार्न पनि प्रशासनको ध्यानाकर्षण गराएको छ। मुस्लिम छात्राहरूका लागि छुट्टै इस्लामिक विद्यालयहरू उपलब्ध रहेको उल्लेख गर्दै त्यहाँ अध्ययन गराउने विकल्प पनि सुझाइएको छ।
समितिले विद्यालयको नियम विपरीत भन्दै हिजाब र बुर्का प्रयोग अविलम्ब रोक्नुपर्ने माग दोहोर्याएको छ।



