वीरगञ्ज , माघ ३
जितपुर सिमरा उपमहानगरपालिका–१३ डुम्मरवाना निवासी जेन्जी युवा रोशन चौधरीले आफ्नो जन्मदिनलाई समाजसेवाको माध्यम बनाउँदै एक उदाहरणीय कार्य गरेका छन्। उनले जन्मदिनको अवसरमा पथलैया स्थित वृद्धाआश्रममा आश्रित वृद्ध बाआमाहरूसँग समय बिताउँदै जन्मोत्सव मनाएका हुन्।
उक्त अवसरमा चौधरीले आफ्नै घरबाट तयार गरिएको शुद्ध भोजनसहित ७ थान सिरक र ७ थान डसना वृद्धाआश्रमलाई सहयोगस्वरूप हस्तान्तरण गरे। यसअघि पनि वृद्धाआश्रममा सहयोग गर्ने इच्छा रहे पनि जन्मदिनको अवसर पारेर सहयोग गर्न पाउँदा आफूलाई विशेष सन्तुष्टि मिलेको चौधरीले बताए।
जन्मदिनको कार्यक्रममा उनका साथीहरूको समेत सक्रिय सहभागिता रहेको थियो। सरोज गहतराजले ७ थान च्यवनप्रास, उत्तम कार्कीले बिस्कुट, भीम शाहले नगद तथा बिना जोसिले हर्लिक्स सहयोग गरेका थिए।
समाजमा पछाडि पारिएका समुदाय, बेसहारा, गरिब तथा उत्पीडित वर्गलाई सहयोग गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको चौधरीको भनाइ छ। न्यानो डसना र सिरक पाउँदा एक वृद्ध आमाले भावुक हुँदै आँसुका साथ आशिर्वाद दिँदै पुनः आउन आग्रह गरेपछि कार्यक्रम अझै मार्मिक बनेको थियो।



