वीरगञ्जमा पानी संकट समाधानका लागि वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

Spread the love

वीरगञ्ज, साउन १५ 

दीर्घकालीन पानी संकट समाधान तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित वीरगञ्जमा एक भव्य वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक साझेदारी अभियान अन्तर्गत वीरगञ्ज महानगरपालिका, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवन र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त पहलमा सो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम वीरगञ्ज महानगरपालिका–१६ अन्तर्गत वैष्णवी मन्दिर चौकदेखि नयाँ बसपार्कसम्मको सडक किनार क्षेत्रमा सञ्चालन गरिएको थियो। यस क्रममा करिब ७० वटा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन्। बिरुवाहरूको दीर्घकालीन संरक्षणका लागि लोहाको तारजाली (प्रोटेक्टिभ गार्ड) समेत जडान गरिएको आयोजकहरूले जानकारी दिएका छन्।

कार्यक्रमको अध्यक्षता ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए। नगर प्रमुख राजेशमान सिंह प्रमुख अतिथिको रूपमा सहभागी थिए भने विशिष्ट अतिथिमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी प्रमुख एसपी पुरनचन्द्र भट्ट, नेपाल इनोभेट सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, चुरे तराई मधेश समिति चितवनका अध्यक्ष डा. किरण पौडेल, भारतीय महावाणिज्यदूतावास वीरगञ्जका प्रमुख डी.एस. मिना, महानगर सरसफाई इञ्चार्ज सर्फुदिन अन्सारीसहित विभिन्न सुरक्षा निकाय, समाजसेवी र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, सञ्चारकर्मीहरू अभिलाष गुप्ता, सुश्मिता यादव, संजय शर्मा, राकेश अग्रवाल, चन्द्र अग्रवाल, ललित अग्रवाल, शुशिल कादमियाँ तथा प्रहरीतर्फ वरिष्ठ हवल्दार प्रेम राम, सहायक हवल्दार अजिता घिमीरे र प्रहरी जवान अमर सिंह साउदको सक्रिय सहभागिता थियो।

नगर प्रमुख सिंहले कार्यक्रममा बोल्दै भने, “वीरगञ्जको पानी संकट समाधानका लागि दीर्घकालीन रणनीतिमा हरियाली विस्तार अनिवार्य छ। वृक्षारोपण अभियानले प्रहरी, नागरिक समाज र स्थानीय सरकारबीचको सहकार्यलाई मजबुत बनाएको छ।”

आयोजक संस्थाहरूले आगामी दिनहरूमा अझ व्यापक वृक्षारोपण र संरक्षण अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै समुदायमा सकारात्मक सन्देश फैलाएको आयोजकहरूले बताएका छन्।

Scroll to Top