सांसद रहबर अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार रहेको दाबी

Spread the love

वीरगञ्ज, असोज १६

प्रतिनिधि सभामा सांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा व्यक्त गरेका आरोप तथा टिप्पणीप्रति कलेज प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ।

कलेजले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत आफू सन् २००१ देखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको र हालसम्म चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सम्बन्धित निकायको नियमित अनुगमन तथा नियामकीय प्रक्रियाअन्तर्गत सञ्चालन हुँदै आएको जनाएको छ।

सांसद अन्सारीले उठाएका आरोपबारे हालसम्म कुनै सम्बन्धित नियामक वा सरकारी निकायबाट आधिकारिक रूपमा आरोप पुष्टि भएको निष्कर्ष प्राप्त नभएको कलेजको दाबी छ। यद्यपि, कलेजले तथ्यमा आधारित, निष्पक्ष र पारदर्शी परीक्षणका लागि आफू पूर्ण रूपमा तयार रहेको जनाएको छ।

कलेजले सम्बन्धित निकायलाई आवश्यक सम्पूर्ण अभिलेख तथा विवरण उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा सार्वजनिक रूपमा उठाइने विषय प्रमाणित तथ्य, दस्तावेजी आधार र अधिकारप्राप्त निकायको आधिकारिक परीक्षणमा आधारित हुनुपर्ने कलेजको धारणा छ।

अपुष्ट आरोपले विद्यार्थी, चिकित्सक, कर्मचारी, बिरामी तथा सर्वसाधारणमा अनावश्यक भ्रम र अविश्वास सिर्जना गर्न सक्ने भन्दै कलेजले आफ्नो करिब २५ वर्षको संस्थागत इतिहास, चिकित्सा शिक्षाको गुणस्तर, सुरक्षित स्वास्थ्य सेवा, विद्यार्थीको शैक्षिक हित तथा नियामकीय मापदण्डको पालनाप्रति प्रतिबद्ध रहेको जनाएको छ।

प्रेस विज्ञप्तिमा कलेजका प्रशासन प्रमुख विश्वनाथ कन्ठले हस्ताक्षर गरेका छन्।

Scroll to Top