बीरगंज , असोज १९
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतलगायत विभिन्न जिल्लामा आयोजना हुने भएको छ। प्रतियोगिता आयोजना गर्ने नेपाल सरकारको निर्णयको स्वागत गर्दै राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिले सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।
स्थानीय तहदेखि खेल प्रतिभाको खोजी, पहिचान र उत्पादन गर्दै नेपाली खेलकुदको विकास तथा विस्तार गर्ने उद्देश्यले प्रत्येक दुई वर्षमा चक्रीय प्रणालीअनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदै आएको छ। सोहीअनुसार यसपटक कर्णाली प्रदेशले प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको हो।
मूल आयोजक समितिले प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै पूर्वतयारी, व्यवस्थापन तथा सञ्चालनका लागि कार्यसम्पादन समितिलाई आवश्यक निर्देशन दिएको छ।
दसौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन्। प्रतियोगितामा ३२ खेल विधा समावेश गरिनेछ। सरकारले स्वीकृत गरेको बजेट तथा खर्चसम्बन्धी मापदण्डअनुसार प्रतियोगिताको खर्च व्यवस्थापन गरिने जनाइएको छ।
यसैगरी, पहिलोपटक आयोजना हुन लागेको प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक तयारीसमेत अघि बढाइने भएको छ।
बैठकलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमा हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो। उहाँले प्रतियोगिताको उत्सव आजैदेखि सुरु भएको बताउँदै मुख्य प्रतियोगिता भने मंसिर १६ गतेदेखि हुने उल्लेख गर्नुभयो।
मन्त्री पोखरेलले अघिल्ला राष्ट्रिय खेलकुदको तुलनामा यसपटकको प्रतियोगिता प्रभावकारी रूपमा सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो। प्रतियोगिता सफल बनाउन संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले मूल आयोजक समितिको बैठकले दसौँ राष्ट्रिय खेलकुद आयोजना हुने सुनिश्चितता थप बलियो बनाएको बताउनुभयो। प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि कर्णाली प्रदेशको आयोजनात्मक क्षमता प्रस्तुत हुने उहाँको भनाइ छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले निर्धारित समयमै प्रतियोगिता भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी अघि बढाइएको जानकारी दिनुभयो।
प्रतियोगितालाई प्रभावकारी बनाउन निजी क्षेत्र, संघसंस्था तथा अन्य सरोकारवालाको सहभागिता बढाउने तयारी गरिएको छ। यसका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणा अपनाउँदै सम्भावित प्रायोजकसँग समझदारीपत्र गरी कार्यक्रम कार्यान्वयन गर्ने निर्णय भएको छ।
प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ अनुसार विभिन्न विषयगत उपसमिति गठन गरिनेछ। साथै, दसौँ राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदको सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक काम अघि बढाउन कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गरिएको छ।
कर्णालीमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुदलाई खेल प्रतिभाको खोजी, पहिचान र उत्पादनसँगै नेपाली खेलकुदको समग्र विकासका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।



