वीरगञ्ज , असोज १९
पर्साको सखुवा प्रसौनी गाउँपालिका–२, औराहा पञ्चगावामा जितिया पर्वको अवसरमा आयोजना गरिएको मेला अन्तर्गत आजदेखि दंगल कुस्ती प्रतियोगिता सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले गर्नुभएको हो। जितिया पर्वको अवसरमा स्थानीयस्तरमा आयोजना गरिएको मेलालाई थप आकर्षक बनाउन कुस्ती प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा नेपालका विभिन्न स्थानसँगै भारतका विभिन्न क्षेत्रबाट आएका पहलवानहरूको सहभागिता रहेको छ। नेपाली तथा भारतीय पहलवानबीच प्रतिस्पर्धा हुने भएकाले प्रतियोगितामा स्थानीय दर्शकको समेत उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।
जितिया पर्वको सांस्कृतिक तथा सामाजिक महत्वसँगै मेलामा आयोजना हुने दंगल कुस्तीले स्थानीय कला, परम्परा र मनोरञ्जनलाई समेत निरन्तरता दिने आयोजकको विश्वास छ।



