वीरगञ्ज, २७ माघ
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले वीरगञ्जमा खानेपानीको गम्भीर संकट उत्पन्न भएका बेला काठमाडौँबाट तत्काल आएर २४ घण्टाभित्रै बोरिङ गाड्ने काम सुरु गराएको बताएका छन्।
वीरगञ्ज महानगरपालिका–३२ टेढा राम वनमा मंगलबार आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै पूर्व खानेपानी मन्त्रीसमेत रहेका यादवले जनताको सुख–दुःखमा सधैँ जनताकै बीचमा रहेर काम गर्दै आएको दाबी गरे।
उनले भने, “वीरगञ्जमा खानेपानीको हाहाकार भएको बेला म संयोगले खानेपानी मन्त्री थिएँ। समस्या थाहा पाउने बित्तिकै वीरगञ्ज आएँ र आएको २४ घण्टाभित्रै टोल–गल्लीमा डीप बोरिङ गाड्ने काम सुरु गराएँ। घर–घरमा पानी पु¥याउने व्यवस्था मिलाइयो।”
यादवले हाल वीरगञ्जका कुनै पनि टोलमा खानेपानीको समस्या नरहेको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि त्यसबेलै खानेपानी मन्त्रालयमार्फत ४ सय ५० करोड रुपैयाँ बजेट वीरगञ्ज महानगरपालिकामा पठाइएको जानकारी दिए। सो बजेटबाट खानेपानी आयोजना निर्माणका लागि टेन्डर भइसकेको र कामसमेत सुरु भइसकेको उनले बताए।
उनका अनुसार उक्त आयोजना तीन वर्षभित्र सम्पन्न हुने र त्यसपछि वीरगञ्जले स्थायी रूपमा खानेपानी समस्या भोग्नुपर्ने अवस्था नआउनेछ।
कार्यक्रममा यादवले कोरोना महामारीका बेला आफ्नो ज्यान जोखिममा राखेर जनताको जीवन रक्षाका लागि काम गरेको स्मरणसमेत गराए।
एमाले उम्मेदवार यादवले संविधानको रक्षा र जनताको अधिकार सुनिश्चित गर्नकै लागि आफूले यसपटक उम्मेदवारी दिएको स्पष्ट पारे। उनले भने, “संविधान जोगियो भने मात्रै मधेसले प्राप्त गरेका अधिकार सुरक्षित रहन्छन्। मधेसी, महिला, दलित र थारु समुदायका अधिकारको रक्षा गर्न एमालेको जित आवश्यक छ।”
उनले बाँकी रहेका मधेसका अधिकार सुनिश्चित गर्न संविधान संशोधनको आवश्यकता औंल्याउँदै त्यसका लागि पनि जनताले एमालेलाई जिताएर पठाउनुपर्नेमा जोड दिए।


