गौतम माध्यमिक विद्यालयद्वरा शहिद कप विजेता महिला क्रिकेटलाई सम्मान

Spread the love

वीरगञ्ज, जेष्ठ १३

वीरगञ्जस्थित गौतम माध्यमिक विद्यालयले मधेश प्रदेश क्रिकेट संघद्वारा आयोजित ‘सहिद कप मधेश महिला क्रिकेट लिग २०८३’ का विजेता महिला क्रिकेट खेलाडीहरूलाई भव्य सम्मान गरेको छ।

 विद्यालयले विशेष कार्यक्रम आयोजना गरी खेलाडीहरूलाई सम्मानपत्र तथा खादा प्रदान गर्दै सम्मान गरेको हो।

विद्यालयकी म्यानेजिङ डाइरेक्टर परीक्षा प्रिया लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष मनीष सिंह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा विद्यालयका डाइरेक्टर सोनम लामा, प्रिन्सिपल गणेश क्षेत्री, रमेश शर्मा, ललित कर्ण, सौराज प्रधान, सिपेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मनीष सिंहले महिला क्रिकेटको विकासका लागि यस्ता सम्मान तथा प्रोत्साहनात्मक कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए। उनले खेलाडीहरूको मेहनत, अनुशासन र समर्पणकै कारण मधेश प्रदेशमा महिला क्रिकेटले नयाँ उचाइ हासिल गरिरहेको उल्लेख गरे।

उनले आगामी दिनमा पनि खेलाडीहरूलाई निरन्तर मेहनत गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको नाम उज्ज्वल बनाउन आग्रह गरे। विद्यालयले खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै खेलाडीहरूको मनोबल बढाउने कार्य गरेकोमा प्रशंसा गर्दै उनले खेलाडीहरूको सम्मानले आत्मविश्वास र ऊर्जा थपिने बताए।

कार्यक्रममा बोल्दै अध्यक्ष परीक्षा प्रिया लामाले खेलकुदले विद्यार्थीहरूको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। अध्ययनसँगै खेलकुदलाई पनि विद्यालयले विशेष प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उनले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सदैव प्रोत्साहन गरिने बताइन्।

विद्यालयका अनुसार खेलाडीहरूले प्रदर्शन गरेको उत्कृष्ट उपलब्धि, समर्पण तथा खेलभावनाको कदर गर्दै उनीहरूलाई थप हौसला प्रदान गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो।

Scroll to Top