वीरगन्ज , जेष्ठ १३
नेपाल पत्रकार महासंघ पर्सा शाखामा सदस्यता शुद्धीकरण र नियमित साधारणसभाको विषयलाई लिएर आबद्ध पत्रकारहरूबीच असन्तुष्टि चुलिएको छ। महासंघभित्र देखिएको बेथिति, विसंगति तथा संस्थालाई बन्धक बनाउने गतिविधिविरुद्ध एकजुट भएका ४० जना श्रमजीवी पत्रकारहरूले संयुक्त रूपमा ४ बुँदे माग अघि सार्दै नेतृत्वलाई ३ दिने अल्टिमेटम दिएका छन्।
पत्रकारहरूले नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा तथा केन्द्रीय लेखा समिति अध्यक्ष केसी लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै तीन दिनभित्र माग सम्बोधन गर्न आग्रह गरेका हुन्। उक्त ज्ञापनपत्रको बोधार्थ मधेश प्रदेश समिति र केन्द्रीय समितिलाई समेत पठाइएको जनाइएको छ।
ज्ञापनपत्रमा समाजका विकृति र विसंगतिविरुद्ध कलम चलाउने पत्रकारहरूको साझा संस्थामै विवाद, अपारदर्शिता र स्वार्थ केन्द्रित गतिविधि हुनु दुखद तथा चिन्ताजनक रहेको उल्लेख गरिएको छ। केही व्यक्तिहरूले संस्थालाई आफ्नो स्वार्थअनुसार परिचालन गर्न खोज्दै विवादमा तानेर बन्धक बनाएको भन्दै पत्रकारहरूले गम्भीर आपत्ति जनाएका छन्।
पत्रकारहरूले अघि सारेका मुख्य मागहरूमा महासंघको आर्थिक पारदर्शिता कायम गर्न केन्द्रमा बुझाइएको सदस्यता शुल्कको हिसाब सार्वजनिक गर्नुपर्ने, अघिल्लो कार्यसमितिले निर्णय पुस्तिका, आयव्यय तथा सम्पूर्ण कागजात नयाँ कार्यसमितिलाई तत्काल बरबुझारथ गर्नुपर्ने तथा समयमै साधारणसभा सम्पन्न गर्नुपर्ने उल्लेख छ।
त्यसैगरी, सदस्यता शुद्धीकरण प्रक्रिया विधान, विधि, मापदण्ड र नियमअनुसार निष्पक्ष ढंगले गर्नुपर्ने तथा विभिन्न फौजदारी मुद्दा र व्यक्तिगत आचरणलाई समेत आधार बनाउनुपर्ने माग गरिएको छ। सामाजिक सञ्जालमार्फत संस्थाको गरिमामाथि आँच पुर्याउने गतिविधिमा संलग्न व्यक्तिमाथि छानबिन गरी कारबाही गर्न समेत पत्रकारहरूले माग गरेका छन्।
नयाँ नेतृत्व चयन भइसकेपछि पनि अघिल्लो कार्यसमितिले प्रशासनिक तथा आर्थिक कागजात हस्तान्तरण नगर्नु र साधारणसभा हुन नदिनु अत्यन्त खेदजनक रहेको पत्रकारहरूको भनाइ छ। महासंघका पदाधिकारी, सल्लाहकार तथा कार्यसमिति सदस्यहरूले आफ्नो जिम्मेवारी इमानदारिताका साथ निर्वाह गर्नुपर्नेमा जोड दिँदै पत्रकारहरूले तीन दिनभित्र माग पूरा गर्न चेतावनी दिएका छन्।
तोकिएको समयभित्र माग सम्बोधन नभए थप दबाबमूलक आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनीसमेत पत्रकारहरूले दिएका छन्।



