नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ को बृहत् क्षेत्रीय भेला सम्पन्न

Spread the love

वीरगञ्ज , माघ ४

नेपाली कांग्रेस पर्सा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिको आयोजनामा आज लक्ष्मीनारायण पार्टी प्यालेसमा बृहत् क्षेत्रीय भेला सम्पन्न भएको छ। क्षेत्रीय कार्यसमितिका कार्यवाहक सभापति अनिलप्रसाद सिंहको सभापतित्व तथा संविधानसभा सदस्य एवं नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का सांसदका उम्मेदवार अनिल रुङटाको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो।

भेलालाई सम्बोधन गर्दै सांसदका उम्मेदवार अनिल रुङटाले पर्सा क्षेत्र नं. १ मा नेपाली कांग्रेसको जित सुनिश्चित गर्न सम्पूर्ण कांग्रेसजन एकजुट भई आ–आफ्नो स्थानबाट सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिनुभयो। पार्टीले जिम्मेवारी दिएपछि उम्मेदवारी अघि सारेको उल्लेख गर्दै उहाँले सबैको सहयोग, सहकार्य र समर्थन आवश्यक रहेको बताउनुभयो।

रुङटाले क्षेत्रका बासिन्दाहरू परिवर्तन चाहिरहेको भन्दै नयाँ अनुहारको माग बढिरहेको अवस्थामा आफूले उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो। उहाँले नगरवासीहरूको विश्वास र साथले आफ्नो जित सुनिश्चित हुने आधार देखिएको दाबी गर्नुभयो। साथै, पार्टीलाई कमजोर पार्ने प्रयास भइरहेको भए पनि सबै एक ठाउँमा उभिएर त्यसको सामना गर्नुपर्नेमा जोड दिनुभयो।

भेलामा नेपाली कांग्रेस पर्साका जिल्ला उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव तथा वीरगञ्ज महानगरपालिकाका उपमेयर आलम, महाधिवेशन प्रतिनिधि लक्ष्मीनारायण नेपाल, राधेश्याम चौरसिया, रियाज अहमद, वडा नम्बर ४ का वडा अध्यक्ष जगत शाह कानु, वडा नम्बर ७ का हिराकाजी महर्जन, पूर्व उपमेयर शान्ति कार्की, महिला संघकी सभापति किरण शर्मा, तरुण दलका जिल्ला सभापति विकास तिवारीलगायत विभिन्न वडाका प्रतिनिधि तथा बुथ सभापतिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य रामनिवास यादवले गर्नुभएको थियो।

Scroll to Top