वीरगञ्ज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ प्रकरणसँग वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको नाम जोडेर समाचार प्रकाशित गरिएको भन्दै महानगरपालिकाले आपत्ति जनाएको छ।
महानगरपालिकाका प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेले विज्ञप्ति जारी गर्दै अनलाइनखबर डटकममा प्रकाशित समाचार तथा अन्य सञ्चारमाध्यमबाट समाचारको नाम दिई गरिएको प्रचारप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
विज्ञप्तिमा मेयर सिंह स्वयं जबरालाई खोजिरहेको अवस्थामा उनलाई जबरजस्ती घटनामा तानेर विवादित बनाउने तथा प्रतिष्ठामा आँच पुर्याउने कार्य दुःखद भएको उल्लेख गरिएको छ।
महानगरपालिकाले आफूहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्ने भए पनि व्यक्तिको प्रतिष्ठा र सार्वजनिक छविमा असर पर्ने गरी असम्बन्धित विषयमा नाम जोडेर समाचार सम्प्रेषण गर्नु उचित नभएको जनाएको छ। समाचार प्रकाशन गर्दा तथ्यको पूर्ण पुष्टि गरेर मात्रै सामग्री सम्प्रेषण गर्नसमेत सञ्चारमाध्यमलाई आग्रह गरिएको छ।
विज्ञप्तिमा मेयर सिंहविरुद्ध नागरिकता सम्बन्धी सेवा दिएको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्राधिकार नाघी संविधान र कानुनविपरीत जबर्जस्ती भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको दाबी गरिएको छ। उक्त विषयमा पर्सा जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा विशेष अदालतमा मुद्दा दायर गरिएको भन्दै महानगरले ‘Double Jeopardy’ को सिद्धान्तविपरीत भएको ठहरसहित सर्वोच्च अदालतमा रिट दायर गरेको उल्लेख गरेको छ।
महानगरका अनुसार सर्वोच्च अदालतले उक्त रिट खारेज गरेपछि विशेष अदालतको न्यायिक प्रक्रिया अघि बढेको थियो। पछि विशेष अदालतबाट सिंहले सफाइ पाएपछि उनी नियमित रूपमा वीरगञ्ज महानगरपालिकाको सेवामा उपस्थित हुँदै आएको विज्ञप्तिमा उल्लेख छ।
महानगरपालिकाले कानुनसम्मत न्यायिक प्रक्रियाबाट टुंगो लागिसकेको विषयलाई अन्य व्यक्तिको पक्राउ प्रकरणसँग जोडेर समाचार सम्प्रेषण गर्नु तथ्य र सन्दर्भ दुवैलाई विकृत गर्ने प्रयास भएको जनाएको छ।
उक्त विषयमा सम्बन्धित सञ्चारमाध्यमले आवश्यक खण्डन तथा यथोचित सम्बोधन गर्नुपर्ने महानगरपालिकाको माग छ। अन्यथा प्रचलित कानुन तथा पत्रकारिता आचारसंहिताअनुसार प्रेस काउन्सिल नेपाललगायत सम्बन्धित निकायमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ।
महानगरपालिकाले समाचार प्रकाशन तथा प्रसारण गर्दा तथ्य, सत्यता, सन्तुलन, जिम्मेवारी र तथ्यपरकताको पत्रकारिताको आधारभूत मान्यतालाई ध्यान दिन सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरेको छ।




