वीरगंज, ३१ जेठ
वीरगंजको नगर सभागृह (टाउन हल) मा शुक्रबार आयोजना गरिएको ‘भविष्य मेला’ भब्य रुपमा सम्पन्न भएको छ । एड्स बी मिडिया प्रा.लि.को आयोजनामा सम्पन्न मेलामा वीरगंज, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर, सिराहा, धनुषा र सप्तरी जिल्लाका ५ हजारभन्दा बढी विद्यार्थीले सहभागी भई निःशुल्क शैक्षिक परामर्श प्राप्त गरेका छन् ।
मेलामा वीरगंजकै १८ वटा संस्थागत र १० वटा सामुदायिक गरी २८ वटा कलेजहरुले आफ्ना जानकारीमूलक स्टल राखेका थिए । विद्यार्थीहरुले कुन विषय पढ्ने, कति खर्च लाग्ने, छात्रवृत्तिको बारेमा, रोजगारीका अवसरजस्ता महत्वपूर्ण विषयमा जानकारी प्राप्त गरेका थिए । भविष्य मेलाका निर्देशक नविन कार्कीले मेलाले विद्यार्थीलाई विषय छनोटमा स्पष्टता दिन सहयोग पु¥याएको बताए ।
मेलाको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका थिए । उनले उद्घाटन कार्यक्रममा बोल्दै वीरगंजका कलेजहरु शैक्षिक, भौतिक र प्रशासनिक हिसाबले सक्षम रहेको बताउँदै यस मेलाले विद्यार्थीलाई स्थानीय कलेजहरूप्रति आकर्षित गर्न र त्यहीँ अध्ययन गर्न प्रेरित गर्न भूमिका खेलेको बताए । साथै उनले निजी कलेजसँग प्रतिस्पर्धा गर्नसक्ने सरकारी कलेजहरु पनि वीरगंजमै रहेको उल्लेख गरे ।
सनलाईट स्कूलका प्रधानाध्यापक आलोक चौरसियाले मेलाले विद्यार्थीलाई शैक्षिक निर्णय लिन मार्गदर्शन गरेको बताए । ब्राइट प्लस टु कलेजका प्रबन्ध निर्देशक मुकेश गुप्ताले मेलाले विद्यार्थी र अभिभावक दुवैको लागि शिक्षा सम्बन्धी सही निर्णय लिन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
विद्यार्थीहरुले पनि एउटै ठाउँमा धेरै कलेजका विषय, सुविधा र अवसरबारे जानकारी लिन पाएकोमा खुशी व्यक्त गरे ।
भविष्य मेलामा वीरगंज महानगरपालिका, प्याब्सन पर्सा, एनप्याब्सन पर्सा, हिसान पर्सा, वीरगंज उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ पर्सा, वीरगंज जेसीज, नेपाल इनोभेटिभ सोसाइटी, रोटरी क्लब लगायतका संस्थाहरुको सहयोग रहेको थियो ।
मेलामा एबिसी सेक्युरिटीले निःशूल्क डिम्याट खाता खोलिदिएको थियो भने प्रोग्रेसिभ फाइनान्सले विद्यार्थीहरुको बैंक खाता निःशूल्क रुपमा खोलिदिएको थियो । सिद्धि आई केयरले निःशूल्क आँखा परीक्षण सेवा दिएको थियो भने वल्र्डलिंकले इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराएको थियो । साथै, ‘बी नेचुरल’ ब्राण्डले सहभागी विद्यार्थीहरुलाई आइसक्रिम वितरण गरेको एड्स बी मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक हिमान्शु वर्णवालले जानकारी दिए ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्विन्दलाल कर्णसहित विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालय तथा कलेजका प्रमुख तथा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


