वीरगञ्ज, साउन ३१
बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२ स्थित वन कार्यालय अगाडिबाट मानसिक अवस्था कमजोर भएका एक अन्दाजी ४० वर्षीय पुरुषलाई शुक्रबार राति उद्धार गरिएको छ।
मानवसेवा आश्रम वीरगञ्ज शाखाले राति ९:३० बजे उद्धार गरेको उक्त व्यक्तिले आफ्नो नाम–ठेगाना प्रष्टसँग बताउन नसक्ने अवस्था रहेको आश्रमले जनाएको छ। उद्धारपछि उनलाई आश्रम वीरगञ्ज लगेर सरसफाइ तथा नुहाइ–धुहाइ गराइएको छ। साथै डा. भरत गोईज्यूको निगरानीमा आवश्यक औषधोपचार थालिने आश्रमले जानकारी दिएको छ।
उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारु, संयोजक मुना मगर, जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी जवान नागेश्वर यादव, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक हवल्दार अरविन्द कुमार दास तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


