नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता वितरणमा गम्भीर बेथिति, पर्सामा फारम नै ‘गायब’

Spread the love

पर्सा , पौष १४

नेपाली कांग्रेसका श्रद्धेय नेता प्रदीप गिरिले महाधिवेशनमार्फत हुने नेतृत्व चयन प्रक्रियाप्रति व्यक्त गर्दै आएको आलोचना आज पनि यथार्थमा देखिएको छ। गिरिले व्यङ्ग्य गर्दै भनेझैँ, पार्टीभित्र पहिले आफैं मतदाता (क्रियाशील सदस्य) चुन्ने र तिनै मतदाताबाट आफू नेता चुनिने अभ्यास देशैभर दोहोरिएको पाइएको छ।

महाधिवेशनको तयारी चलिरहँदा केन्द्रबाट पठाइएका क्रियाशील सदस्यता फारमहरू जिल्लामा पुगेर पनि लुकाइने, वडा तहसम्म नपुर्‍याइने र सम्बन्धित कार्यकर्तालाई नै जानकारी नदिइने अवस्था देखिएको छ। विशेषगरी पर्सा जिल्लामा यस्तो बेथिति अझै व्यापक रहेको गुनासो बढ्दो छ।

महामन्त्री गगन थापाले ‘कसैले पनि मुठ्ठीमा कसेर क्रियाशील बाँड्ने सोचबाट बाहिर निस्कनुहोस्’ भनी बारम्बार चेतावनी दिँदै आए पनि त्यसलाई गम्भीरतापूर्वक नलिइएको कार्यकर्ताहरूको आरोप छ। वडा समितिका अधिकांश पदाधिकारीहरू नै क्रियाशील सदस्यता फारम कहाँ छ भन्नेमा अनभिज्ञ देखिन्छन्। यसले नयाँ सदस्यता लिन चाहनेहरूको मनोबलमा गम्भीर असर परेको छ।

विधान, नियमावली र केन्द्रीय निर्णयहरूको पालना नगरी ‘जसको शक्ति उसैको भक्ति’ शैलीमा संगठन चलाउने प्रवृत्ति कायमै रहेको आरोप छ। प्रत्येक वडामा विद्यमान क्रियाशील सदस्य संख्याको शतप्रतिशतका दरले नयाँ फारम पठाइएको भनिए पनि धेरै वडामा त्यसको कुनै रेकर्ड भेटिएको छैन। सोधपुछ गर्दा वडाका जिम्मेवार व्यक्तिहरू समेत जवाफविहीन हुने गरेका छन्।

लोकतान्त्रिक अभ्यासका नाममा भइरहेको यस्तो अलोकतान्त्रिक व्यवहारले पार्टीको भविष्य नै संकटमा पार्न सक्ने चेतावनी कार्यकर्ताहरूले दिएका छन्। संगठन कमजोर बनाएर नेतृत्वको आकांक्षा राख्नु आत्मघाती हुने उनीहरूको भनाइ छ।

कार्यकर्ताहरूले सबैलाई विधि–विधानको सम्मान गर्दै सहकार्यमा अघि बढ्न, नयाँ क्रियाशील सदस्यहरूलाई खुला मनले स्वागत गर्न आग्रह गरेका छन्। अन्यथा, ‘कांग्रेस किन बन्ने?’ भन्ने प्रश्न अझै तीव्र हुने उनीहरूको ठहर छ।

Scroll to Top