वीरगञ्ज , पौष १३
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगितामा पुस १३ गते बारौँ दिन छ वटा प्रतिस्पर्धात्मक खेलहरू सफलतापूर्वक सम्पन्न भएका छन्।
आदर्शनगरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलहरूमा छात्रा तथा जुनियर छात्रतर्फका विद्यालय टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन्।
बारौँ दिनको पहिलो खेल जुनियर छात्रतर्फ गोल्डेन फ्युचर सेकेन्डरी स्कुल र लिटल फ्लावर सेकेन्डरी स्कुलबीच सम्पन्न भयो। खेलमा लिटल फ्लावर सेकेन्डरी स्कुलले ७ विकेटको प्रभावशाली जित निकाल्यो। उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका सुशांक गुप्ता प्लेयर अफ द म्याच घोषित भए।
दोस्रो खेल छात्रातर्फ गौतम सेकेन्डरी स्कुल र साउथ जोन सेकेन्डरी स्कुलबीच खेलियो। साउथ जोन सेकेन्डरी स्कुलले सशक्त प्रदर्शन गर्दै १० विकेटको फराकिलो जित दर्ता गर्यो। यस खेलकी उत्कृष्ट खेलाडी शिवानी साह प्लेयर अफ द म्याच घोषित भइन्।
तेस्रो खेल जुनियर छात्रतर्फ एस.आर. ग्यालेक्सी एकेडेमी र गोल्डेन फ्युचरबीच भएको थियो। कडा प्रतिस्पर्धामा एस.आर. ग्यालेक्सी एकेडेमीले १५ रनको महत्वपूर्ण जित हात पार्यो। राजन साहको उत्कृष्ट प्रदर्शनका कारण उनी प्लेयर अफ द म्याच बने।
चौथो खेल छात्रातर्फ एस.आर. ग्यालेक्सी एकेडेमी र बेकन सेकेन्डरी स्कुलबीच सम्पन्न भयो। खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले ८ विकेटको सहज जित निकाल्यो। दीक्षा गिरी प्लेयर अफ द म्याच घोषित भइन्।
पाँचौँ खेल जुनियर छात्रतर्फ सुर्योदय सेकेन्डरी स्कुल र ज्ञान वाटिका स्कुलबीच भएको थियो। सुर्योदय सेकेन्डरी स्कुलले सन्तुलित टोलीगत प्रदर्शन गर्दै ७ विकेटको जित दर्ता गर्यो। साहिद देवान यस खेलका प्लेयर अफ द म्याच बने।
दिनको अन्तिम खेल छात्रातर्फ लिटल फ्लावर सेकेन्डरी स्कुल र एस.आर. ग्यालेक्सी एकेडेमीबीच कडा प्रतिस्पर्धामा सम्पन्न भयो। अन्ततः लिटल फ्लावर सेकेन्डरी स्कुलले १२ रनको रोमाञ्चक जित हात पार्यो। उत्कृष्ट खेल प्रस्तुत गरेकी अर्चना ठाकुर प्लेयर अफ द म्याच घोषित भइन्।
आयोजक प्याब्सन वीरगञ्जले प्रतियोगिताले विद्यालयस्तरका छात्रा तथा जुनियर छात्र खेलाडीहरूलाई खेल प्रतिभा निखार्ने महत्वपूर्ण अवसर प्रदान गरिरहेको जनाएको छ। दर्शकको उल्लेखनीय उपस्थिती र विद्यालयहरूको सक्रिय सहभागिताले प्रतियोगिता दिनप्रतिदिन थप रोमाञ्चक बन्दै गएको आयोजकको भनाइ



