रास्वपाका उम्मेदवार ई. अरविन्द साहको कलैयामा घरदैलो अभियान

Spread the love

बीरगञ्ज , माघ १३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिनुभएका ई. अरविन्द साहले कलैया उपमहानगरपालिकाका विभिन्न वडाहरूमा घरदैलो अभियान सञ्चालन गर्दै स्थानीय मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ ।

मङ्गलवार बिहानैबाट सुरु भएको घरदैलो अभियानमा उहाँले विभिन्न वडामा पुगेर स्थानीय मतदाताहरूसँग संवाद गर्दै परिवर्तनको पक्षमा मतदान गर्न र रास्वपालाई विजयी बनाउन आग्रह गर्नुभयो ।

कलैया उपमहानगरपालिकाको वडा नम्बर २१, २२ र २६ मा भएको घरदैलो कार्यक्रममा ई. साहले स्थानीयहरूको समस्या सुन्दै आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वडा नम्बर २१ को मडील्वामा पुगेर उहाँले विगतका यस क्षेत्रबाट जितेर गएका जनप्रतिनिधिहरूले गरेको कामको मूल्याङ्कन गर्दै परिवर्तन आवश्यक रहेको बताउनुभयो । “यसअघि बाराबाट निर्वाचित जनप्रतिनिधिहरूले जनताको समस्या सम्बोधन गर्न सकेनन् । अब परिवर्तन चाहियो भने घण्टी छापमा मतदान गरेर रास्वपालाई जिताउनुहोस्,” उहाँले आग्रह गर्नुभयो । उहाँले परिवर्तनले आफ्नो र आउने पुस्ताको सुरक्षित भविष्य सुनिश्चित गर्ने जोड दिनुभयो ।

त्यसपछि वडा नम्बर २२ को मटीरीयामा पुगेर ई. साहले मतदाता, स्थानीय, विद्यार्थी र बुद्धिजीवीहरूसँग छलफल गर्नुभयो । भेटघाटमा उहाँले स्थानीयहरूले भोगिरहेका समस्याहरूको बारेमा जानकारी लिँदै तिनको समाधानका लागि विभिन्न उपायहरूबारे चर्चा गर्नुभयो । स्थानीयहरूका अनुसार, भेटघाटले उनीहरूका दैनिक समस्या जस्तै शिक्षा, स्वास्थ्य र पूर्वाधारका विषयमा ध्यानाकर्षण गरेको छ ।

अभियानको क्रममा वडा नम्बर २६ को सिस्वा र बकुलहरमा पनि पुग्नुभएका ई. साह त्यहाँको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन र आम जनताको जीवनस्तर उकास्ने कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यसअघि सत्तामा रहेका दलहरूले मतदाताको भोटलाई मात्र संसद् पुग्ने माध्यम बनाएको आरोप समेत लगाउनुभयो ।

“यी दलहरूले जनताको वास्तविक समस्या समाधान गर्न कुनै काम गरेनन् । उदाहरणका लागि, लामो समयदेखि बन्न नसकेको कलैयाको मानमत-मटीअर्वा सडक खण्डलाई हेर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

ई. साहले कलैया र समग्र बारा जिल्लामा रहेका शैक्षिक संस्था, स्वास्थ्य संस्था, भौतिक पूर्वाधार र सडक सञ्जालको दुरावस्थाको बारेमा पनि चर्चा गर्नुभयो । उहाँले विगतका जनप्रतिनिधिहरूले बारामा कुनै सुधार नगरेको आरोप लगाउँदै रास्वपा नेतृत्वको सरकारले सबै समस्या सम्बोधन गर्ने वाचा गर्नुभयो । “रास्वपाले परिवर्तन खोजेको छ र परिवर्तन गर्न सक्ने व्यक्तिहरूलाई मात्र उम्मेदवार बनाएको छ,” उहाँले थप्नुभयो ।

एक सफल उद्यमीको रूपमा आफूलाई प्रस्तुत गर्दै ई. साहले आफूले हजारौँलाई विभिन्न परियोजनामार्फत रोजगारी प्रदान गरेको बताउनुभयो । “यदि म सांसदमा निर्वाचित भएँ भने कलैया र बाराका युवाहरूका लागि उद्यमशीलता र रोजगारीका अवसरहरू सिर्जना गर्नेछु,” उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Scroll to Top