वीरगंज, असार १५
नेपाल इनोभेटिभ सोसाइटी वीरगंजले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगंजस्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन छात्र–छात्राहरूलाई सामग्री सहयोग गरेको छ।

दृष्टिविहिन बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा इस्पीकर १ थान, कचौरा, प्लेट, गिलास र चम्चा लगायतका सामग्रीहरू प्रदान गरिएको थियो। साथै, असार १५ गते राष्ट्रिय धान दिवसको अवसर पारेर विद्यार्थीहरूलाई परम्परागत परिकार जस्तै जेरी, चीउरा, दही तथा तरकारीसमेत खुवाइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरी गौतम रहेका थिए भने विशिष्ट अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्राको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नविन मिश्र, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष तथा समाजसेवी कमल चौगाईं, सचिव रीसिराज सत्याल, सह–सचिव विजय कुमार बल, शिक्षक, पत्रकार, अभिभावक तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यस्तै, कार्यक्रममा शिक्षक मार्टिन मोक्तान, महेश साह, शिक्षिका जिनु मैया, वडा नं. ३ का अध्यक्ष बैजु लाल सर्वणकार, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाई, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्ट, नारायणी अस्पतालका मेसु डा. चुमनलाल दास, डा. निरज चौधरी, मुन लाइट स्कुलका संचालक सुलभ केसी, जेसिज वीरगंजका अध्यक्ष सरोज चौरसिया, मन्दिरा चौधरी, गोविन्द गुप्ता लगायतको विशेष उपस्थिति रहेको थियो।
नेपाल इनोभेटिभ सोसाइटीले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक उत्थानका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ।


