वीरगञ्ज, असार १४
पब्लिक स्कूल (बिपिएस) +२ कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै एकदिने उत्प्रेरणात्मक (मोटिभेसनल) प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीहरूको व्यक्तित्व विकास, जीवन लक्ष्यको पहिचान र सामाजिक उत्तरदायित्वप्रति सजगता अभिवृद्धि गर्ने उद्देश्यसहित उक्त कार्यक्रम सम्पन्न भएको हो।
रानीघाटस्थित कलेजले वीरगञ्जको होटल भिषवामा आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरूले विद्यार्थीहरूलाई प्रेरणादायी सन्देश दिएका थिए। कार्यक्रममा कलेजका शैक्षिक निर्देशक दीपक पटेलले नेतृत्व गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रहरी प्रमुख गौतम मिश्रले विद्यार्थीहरूलाई सामाजिक विकृति र प्रविधिको दुरुपयोगबाट जोगिन सुझाव दिँदै, प्रविधिको सकारात्मक प्रयोगमा जोड दिनुभयो। “स्मार्टफोन र डिजिटल संसारमा सजिलो पहुँच आजको पुस्ताको विशेषता हो, तर त्यसको गलत प्रयोगले भविष्य संकटमा पार्न सक्छ,” उहाँले चेतावनी दिनुभयो।
विशिष्ट अतिथि उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरिप्रसाद गौतम उपस्थित रहनु भएको कार्यक्रममा स्वागत मन्तव्य बोर्ड सदस्य राजेन्द्र चौधरीले राखेका थिए।
कार्यक्रममा बिपिएसका एचआर डाइरेक्टर सन्दीप कुशवाहाले दीर्घकालीन सफलताका लागि आत्मविश्वास, सकारात्मक सोच र अनुशासित जीवनशैलीलाई आवश्यक बताए। “उद्देश्यप्रति निष्ठा र समय व्यवस्थापन नै जीवन परिवर्तनको सूत्र हो,” उनले भने।
मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश मानवसेवा प्रशिक्षकको रूपमा उपस्थित रहे। उनले विद्यार्थीहरूलाई जीवनको लक्ष्य स्पष्ट राख्न र सामाजिक उत्तरदायित्वप्रति सजग हुन आग्रह गरे। “विद्यार्थीकालमै स्थापित सोच र मूल्यहरूले जीवनको दिशा निर्धारण गर्छ,” उनको भनाइ थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता प्रशिक्षणले सोचमा सकारात्मक परिवर्तन ल्याउने, आत्मबल बढाउने र समाजप्रति उत्तरदायी बन्न उत्प्रेरणा दिने बताएका छन्।
कार्यक्रमको समापनमा शैक्षिक निर्देशक दीपक पटेलले सहभागी सम्पूर्ण व्यक्तित्वप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र उपयोगी प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता प्रशिक्षणहरूले सोचमा परिवर्तन ल्याउने, आत्मबल बढाउने र समाजप्रति उत्तरदायी बन्न प्रेरणा दिने बताएका छन्।
कार्यक्रमको अन्त्यमा शैक्षिक निर्देशक दीपक पटेलले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी प्रशिक्षणहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।


