नेशनल इन्फोटेक अन्तरकलेज टी–२० क्रिकेट कप: आयोजक र बीपीसीको विजयी सुरुआत

Spread the love

वीरगञ्ज । पाँचौँ संस्करणको नेशनल इन्फोटेक अन्तरकलेज ट्वान्टी–ट्वान्टी क्रिकेट कपअन्तर्गत बिहीबार भएका दुवै खेलमा आयोजक नेशनल इन्फोटेक कलेज र वीरगञ्ज पब्लिक कलेज (बीपीसी) विजयी भएका छन्।

वीरगञ्जस्थित टीबी साह (नारायणी) रङ्गशालामा सम्पन्न उद्घाटन खेलमा आयोजक नेशनल इन्फोटेक कलेजले कलैयाको बाल एकता कलेजलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको बाल एकता कलेज १७.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै केवल ३६ रनमै समेटियो।

बाल एकताका लागि निखिल तिवारी र अनिकेत प्रसाद सहनीले समान ११–११ रन जोडे भने अन्य खेलाडीहरू टिक्न नसक्दा टोली कमजोर स्कोरमै सीमित रह्यो। बलिङतर्फ नेशनल इन्फोटेकका प्रथम गुप्ताले ३.१ ओभरमा मात्र ३ रन खर्चेर ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै धिरेन्द्र पासवान, अभय यादव र नीरज पटेलले समान २–२ विकेट लिए भने मोहम्मद मेराजले १ विकेट हात पारे।

पहिलो दिनकै दोस्रो खेलमा वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले ओम नेशनल एकेडेमीलाई ३८ रनले पराजित गर्दै सशक्त सुरुआत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको बीपीसीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनायो।

बीपीसीका लागि आयुष गुप्ताले ३१ बलमा २ चौकासहित सर्वाधिक २३ रन बनाए। अजाज अलिले २४ बलमा २१ रन, आशिम अन्सारीले १८ बलमा २० रन तथा यान आलमले १४ रनको योगदान दिए।

१२३ रनको लक्ष्य पछ्याएको ओम नेशनल एकेडेमी कमजोर सुरुआतसँगै दबाबमा पर्‍यो र २० ओभरमा ९ विकेट गुमाउँदै ८४ रनमै समेटियो। ओमका लागि राहुल ठाकुर हजामले २८ बलमा २ चौका र १ छक्कासहित ३१ रन बनाउँदै केही संघर्ष देखाए।

बलिङमा बीपीसीका अंशु साह, अजाज अली र शेख समीले समान २–२ विकेट लिए भने सलमान मियाँ धोबी, अर्सद समानी र कैफ अलिले १–१ विकेट लिए।

प्रतियोगिताअन्तर्गत आगामी दिनहरूमा अन्य कलेजहरूबीच प्रतिस्पर्धात्मक खेलहरू हुने आयोजकले जनाएको छ।

Scroll to Top