प्याब्सन टी–१० क्रिकेटमा गौतम माविको गर्ल्स टिमको दबदबा कायमै

Spread the love

वीरगञ्ज , पौष १०

 निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिताअन्तर्गत नवौँ दिन चारवटा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्। 

आदर्शनगरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलहरूमा छात्र तथा छात्रा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकको मन जितेका छन्।

नवौँ दिनको पहिलो खेल (बोयज) मा ब्लू हेभेन एकेडेमीले MES लाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्‍यो। खेलमा प्रभावशाली प्रदर्शन गरेका आलोक पटेल म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेल (गर्ल्स) मा ओएम नेसनल एकेडेमीले मनकामना सेकेन्डरी स्कुललाई ६ विकेटले हराउँदै महत्वपूर्ण जीत हात पार्‍यो। यस खेलमा उत्कृष्ट खेल प्रस्तुत गरेकी अन्जली साह म्यान अफ द म्याच बनिन्।

तेस्रो खेल (बोयज) मा मनकामना सेकेन्डरी स्कुलले लिटल एन्जल्स सेकेन्डरी स्कुललाई ८ विकेटले पराजित गर्‍यो। साहिल हुसैनको उत्कृष्ट प्रदर्शनका कारण उनी म्यान अफ द म्याच घोषित भए।

यस्तै, चौथो खेल (गर्ल्स) मा गौतम स्कुलले सनसाइन एकेडेमीलाई ७८ रनको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो दबदबा कायम राख्यो। उक्त खेलकी म्यान अफ द म्याच श्रेेष्ठा बस्नेत भइन्।

आयोजक प्याब्सन वीरगञ्जका अनुसार प्रतियोगिताले विद्यालयस्तरका प्रतिभाशाली खेलाडीहरूलाई प्रोत्साहन गर्ने र उनीहरूको खेल कौशल विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

Scroll to Top