नेशनल मेडिकल कलेजद्वारा स्वास्थ्य सेवा समन्वयका लागि स्वास्थ्य चौकी प्रमुखहरूसँग अन्तरक्रिया

Spread the love

बिरगंज, १६ जेष्ठ 

बिरगंजस्थित नेशनल मेडिकल कलेजले आज बिरगंज महानगरपालिकाका ३२ वटै वडाका स्वास्थ्य चौकी प्रमुखहरूसँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य नेशनल मेडिकल कलेजले नेपाल सरकारबाट मान्यता प्राप्त विभिन्न स्वास्थ्य सेवाहरूका बारेमा जानकारी प्रदान गर्नु रहेको थियो।

कार्यक्रममा स्वास्थ्य बीमा सेवा, सामाजिक सुरक्षा कोष, विपन्न नागरिक औषधि उपचार, क्षयरोग (टीबी) कार्यक्रम, खोप सेवा, र कर्मचारी सञ्चय कोष सेवा जस्ता महत्वपूर्ण स्वास्थ्य कार्यक्रमहरूमाथि विस्तृत छलफल गरिएको थियो। नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी रहेका थिए।

प्रबन्ध निर्देशक अंसारीले नेपाल सरकारले निःशुल्क उपचारको व्यवस्था गरे तापनि धेरै नागरिकहरूले यसको लाभ लिन नसकेको यथार्थप्रति चिन्ता व्यक्त गरे। उनले उपस्थित स्वास्थ्य चौकी प्रमुखहरूलाई आ-आफ्ना वडामा यी सेवाहरूबारे जनचेतना फैलाउन आग्रह गरे। साथै, उनले आगामी दिनमा मधेश प्रदेशका आठवटै जिल्लाका स्वास्थ्य चौकीहरूसँग यस्तै अन्तरक्रिया कार्यक्रमहरू आयोजना गर्ने जानकारी समेत दिए।

कार्यक्रममा कलेजका एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ अस्मिन, एडमिसन तथा मार्केटिङ डाइरेक्टर आबिद हुसैन अन्सारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहाँ अन्सारी, भाइस प्रिन्सिपल डा. रविशंकर गुप्ता, मेट्रोन विकास गुप्ता लगायत कलेजका अन्य पदाधिकारी तथा कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो। यस अन्तरक्रियाले नेशनल मेडिकल कलेज र स्थानीय स्वास्थ्य चौकीहरूबीच समन्वय स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Scroll to Top