वीरगञ्ज , पौष ६
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको अन्तर विद्यालय टी–१० क्रिकेट प्रतियोगितामा आइतबार पाँचौँ दिन पाँच वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। आदर्शनगर रङ्गशालामा सम्पन्न खेलहरूमा केटा तथा केटी दुवै तर्फका विद्यालय टोलीहरूले दमदार प्रदर्शन गर्दै दर्शकहरूको उत्साह बढाएका थिए।
पाँचौँ दिनको सुरुवात केटी तर्फ विकन स्कुल र रोयल एकेडेमीबीचको प्रतिस्पर्धाबाट भयो। कडा टक्करबीच सम्पन्न खेलमा विकन स्कुलले रोयल एकेडेमीलाई ३ विकेटले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गर्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी रोशिका बस्नेत ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
त्यसपछि केटा तर्फ साउथजोन र न्यु वेभबीच खेल सम्पन्न भयो। साउथजोनले आक्रामक तथा सन्तुलित खेल प्रदर्शन गर्दै न्यु वेभलाई २८ रनले पराजित गर्यो। उक्त खेलमा नितेश पटेल ‘प्लेयर अफ द म्याच’ बने।
तेस्रो खेल केटी तर्फ गोल्डेन फ्युचर र मुनलाइटबीच भएको थियो। मुनलाइटले उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन गर्दै गोल्डेन फ्युचरलाई ३४ रनले हरायो। यस खेलकी उत्कृष्ट खेलाडी मुस्कान गुप्ता घोषित भइन्।
चौथो खेल केटा तर्फ लिटिल फ्लावर र श्री आदर्शबीच सम्पन्न भयो। लिटिल फ्लावरले सशक्त प्रदर्शन गर्दै ७ विकेटको सहज जित हात पार्यो। अभि कुमार यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए।
पाँचौँ दिनको अन्तिम खेल केटी तर्फ चिल्ड्रेन्स वर्ल्ड र मास्कट एकेडेमीबीच भएको थियो। चिल्ड्रेन्स वर्ल्डले मास्कट एकेडेमीलाई २६ रनले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्यो। चन्दनी साह ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
आयोजक प्याब्सन वीरगञ्जका अनुसार प्रतियोगितामा सहभागी विद्यालयहरूबीचको प्रतिस्पर्धा दिनप्रतिदिन थप रोमाञ्चक बन्दै गएको छ। प्रतियोगिता आगामी दिनहरूमा पनि निरन्तर जारी रहने आयोजकले जनाएको छ।



