वीरगंजमा वृक्षारोपण तथा व्यवस्थापन कार्यक्रम सम्पन्न, हरियाली अभियानलाई गति

Spread the love

वीरगंज, कार्तिक १४

 वातावरण संरक्षण र हरियाली अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ वीरगंज महानगरपालिका कार्यालय, भारतका महावाणिज्य दूतावास वीरगंज, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१०, वीरगंजको संयुक्त आयोजनामा वृक्षारोपण तथा व्यवस्थापन कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम वीरगंज महानगरपालिका वडा नं. २४ (आईसीपी जाने टर्निङ) क्षेत्रमा आयोजना गरिएको थियो।
उक्त कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह रहनुभएको थियो भने, कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले गर्नुभएको थियो।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा वरिष्ठ प्रहरी उपरीक्षक शान्ति राज कोईराला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, तथा भारतीय महावाणिज्य दूतावास वीरगंजका दूत डिएस मिना लगायतका गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

आजको दिनभरको प्रतिकूल मौसम र वर्षा हुँदाहुँदै पनि वृक्षारोपण, व्यवस्थापन तथा सरसफाइ कार्य उत्साहपूर्वक सम्पन्न गरिएको थियो। कार्यक्रममा करिब १०० वटा विभिन्न प्रजातिका बिरुवाहरू रोपण गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा सामुदायिक प्रहरी आदर्शनगरका आजीवन सदस्यहरू, प्रहरी कर्मचारी, पदाधिकारीहरू र स्थानीय समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
मेयर सिंहले यस्तो अभियानले वीरगंजलाई हरियो, स्वच्छ र सुन्दर शहर बनाउने अभियानमा थप बल मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले बिरुवा रोपेर मात्र नभई त्यसको संरक्षणमा सबै नागरिकको समान जिम्मेवारी हुने कुरामा जोड दिनुभयो।

अन्त्यमा आयोजक संस्थाहरूले वीरगंजका अन्य वडाहरूमा पनि निकट भविष्यमा यस्ता वृक्षारोपण तथा सरसफाइ अभियान विस्तार गर्ने योजना सार्वजनिक गरेका छन्।

Scroll to Top