विरगंजको आदर्शनगरदेखि ६ नं. गेटसम्मको सडक सौन्दर्यीकरणको कार्य सुरु

Spread the love

अर्जुन चौधरी

विरगंज, पर्सा 

 विरगंज महानगरपालिका अन्तर्गत आदर्शनगरदेखि ६ नं. गेटसम्मको सडक खण्डको सौन्दर्यीकरण कार्यको शनिबार औपचारिक रुपमा शिलान्यास गरिएको छ। मधेश प्रदेशका एमाले सांसद माननीय बिना देवी शर्मा (मारवाडी) को संसदीय विकास कोषबाट विनियोजित ५० लाख रुपैयाँको बजेटमा उक्त सडकखण्डमा पेभर ढलान र दुवै छेउमा नाला निर्माण गरिने भएको छ।

शिलान्यास कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद बिना देवी शर्मा (मारवाडी) रहनुभएको थियो। कार्यक्रमको सञ्चालन उपभोक्ता समितिको सक्रियतामा सम्पन्न भएको थियो। उपभोक्ता समिति अध्यक्ष अशोक कुमार तिवारी, उपाध्यक्ष प्रेम कुमार चौरसिया, सचिव अर्जुन प्रसाद गुप्ता र कोषाध्यक्ष सशी रौनियार सहित टोलवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले स्थानीय स्तरको पूर्वाधार विकासका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग रहिरहने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “यो क्षेत्रका बासिन्दाको लामो समयदेखि उठ्दै आएको माग अनुसार सडकको सुधार र नालाको निर्माणले स्थानीयको जीवनस्तर सहज हुने छ।”

उपभोक्ता समिति अध्यक्ष अशोक कुमार तिवारीले स्थानीयबासीको सहभागिता र सांसदको पहलमा सुरु हुन लागेको यो परियोजना सबैको सहकार्यमा गुणस्तरीय रूपमा सम्पन्न हुने आशा व्यक्त गर्नुभयो। उहाँले प्राविधिक मापदण्ड अनुसार निर्माण कार्य सम्पन्न गर्न उपभोक्ता समिति पूर्ण प्रतिबद्ध रहेको जानकारी दिनुभयो।

स्थानीय बासिन्दाहरूले पनि परियोजनाको सुरुवातप्रति खुसी व्यक्त गर्दै विकास निर्माणमा जनताको सहभागिता आवश्यक रहेको धारणा राखेका थिए।

परियोजनाअन्तर्गत सडकमा आकर्षक पेभर ढलान गरिनेछ भने दुवै तर्फ नाला निर्माण गरि वर्षायाममा पानी जम्ने समस्याको दीर्घकालीन समाधान गरिनेछ। निर्माण कार्य छिट्टै सुरु भई तोकिएको समयमा सम्पन्न गरिने लक्ष्य राखिएको छ।

Scroll to Top