वीरगञ्जमा जेठ २८ गते ‘स्टडी इन इन्डिया एक्स्पो’ आयोजना हुँदै, २५ भन्दा बढी भारतीय विश्वविद्यालय सहभागी हुने

Spread the love

वीरगञ्ज, जेष्ठ २०

भारतीय विश्वविद्यालय तथा कलेजहरूमा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूका लागि लक्षित “स्टडी इन इन्डिया एक्स्पो” आगामी जेठ २८ गते वीरगञ्जमा आयोजना हुने भएको छ।


शिक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुने निःशुल्क एक्स्पो वीरगञ्जस्थित सरोवर पोर्टिको होटेलमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
आयोजक अफेयर्स नेपालका प्रबन्ध निर्देशक कुमार थपलियाका अनुसार एक्स्पोमा भारतका २५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूको प्रत्यक्ष सहभागिता रहनेछ। कार्यक्रममा विद्यार्थीहरूले कलेजका आधिकारिक प्रतिनिधिसँग सिधै भेटघाट तथा अन्तरक्रिया गर्दै स्नातक, स्नातकोत्तर तथा अन्य दुई सयभन्दा बढी शैक्षिक कार्यक्रमबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।


एक्स्पोमा इन्जिनियरिङ, व्यवस्थापन, सूचना प्रविधि, चिकित्सा तथा पारा–चिकित्सा, फार्मेसी, नर्सिङ, कृषि, होटेल म्यानेजमेन्ट, कानुन, कला तथा मानविकी लगायतका विभिन्न विषयका कोर्सहरूबारे जानकारी प्रदान गरिनेछ।


कार्यक्रमको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूले स्थलमै प्रत्यक्ष आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। साथै, मेरिटका आधारमा शतप्रतिशतसम्म छात्रवृत्ति प्राप्त गर्ने अवसरसमेत उपलब्ध रहने आयोजकले जनाएको छ।


विद्यार्थी तथा अभिभावकलाई विश्वविद्यालयहरूको शुल्क संरचना, भर्ना प्रक्रिया, आवश्यक कागजात, भिसा प्रक्रिया तथा अध्ययनपछिको करिअर सम्भावनाबारे समेत विस्तृत परामर्श प्रदान गरिनेछ। आवेदन प्रक्रिया सहज बनाउन सहभागी विद्यार्थीहरूले शैक्षिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट, नागरिकता वा राहदानीको प्रतिलिपि साथमा ल्याउन आग्रह गरिएको छ।


नेपाल र भारतबीचको भौगोलिक, सांस्कृतिक तथा सामाजिक निकटताका कारण भारतीय शैक्षिक संस्था नेपाली विद्यार्थीहरूका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै आएका छन्। तुलनात्मक रूपमा सुलभ शुल्क, अङ्ग्रेजी माध्यममा अध्ययनको सुविधा, अन्तर्राष्ट्रियस्तरको शैक्षिक पूर्वाधार तथा विविध छात्रवृत्ति अवसरहरू भारतमा अध्ययन रोज्नुका प्रमुख कारण मानिन्छन्।


भारतमा उच्च शिक्षा हासिल गर्ने योजना बनाएका विद्यार्थी तथा अभिभावकका लागि वीरगञ्जमा आयोजना हुन लागेको यो एक्स्पो महत्त्वपूर्ण अवसर बन्न सक्ने अपेक्षा गरिएको छ। आयोजकले इच्छुक सबैलाई कार्यक्रममा सहभागी भई उपलब्ध शैक्षिक अवसरहरूको लाभ लिन आग्रह गरेका

Scroll to Top