वीरगञ्ज । पौष ६
पर्सा जिल्लामा हिन्दु पत्रकारहरूको छुट्टै सङ्गठनको रूपमा हिन्दु पत्रकार सङ्घको कार्यसमिति गठन भएको छ ।
सङ्गठन हिन्दु धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै पत्रकारिताको माध्यमबाट हिन्दु समुदायको अधिकार र आवाजलाई मजबुत बनाउने मुख्य उद्देश्यका साथ स्थापना गरिएको हो ।

विशेष गरी धर्मनिरपेक्षताको नाममा हिन्दु धर्ममाथि हुने प्रहारहरूको विरोध गर्दै सनातन मूल्य–मान्यताको रक्षा गर्नु यसको प्रमुख लक्ष्य रहेको नवगठित समितिका पदाधिकारीहरूले बताएका छन् ।
वीरगञ्जस्थित क्लासिक ब्यानक्वेटमा आइतबार आयोजित पत्रकारहरूको विशेष भेलाबाट सञ्चारकर्मी राजन रौनियारको अध्यक्षतामा समिति गठन गरिएको हो । सङ्घको उपाध्यक्षमा विनोद पटेल र विमला गुप्ता, सचिवमा राजकुमार सर्राफ तथा कोषाध्यक्षमा आनन्द पटेल चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा अभिलाष गुप्ता, अर्जुन चौधरी, अनिल ओझा, सन्तोष कुशवाहा, सञ्जय कुशवाहा, रवि बर्नवाल, राकेश साह, राजु बैठा, रश्मीराज भण्डारी, अजय चौरसिया, त्रिलोकी पटेल लगायतका पत्रकारहरू रहेका छन् ।
सङ्घले एउटा सल्लाहकार समिति पनि गठन गरेको छ । उक्त समितिमा निरञ्जन मिश्र, रितेश झा, आरोहन साह, सोनालाल चौरसिया, कन्हैया गुप्ता र सन्तोष साह रहेका छन् ।
भेलामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारीले संघ गठनलाई स्वागत गर्दै हिन्दु पत्रकारहरूको सङ्गठनले पत्रकारिताको विविधतालाई थप मजबुत हुने र सनातन मूल्यहरूको संरक्षणमा योगदान पुग्ने बताए । त्यस्तै पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहानले हिन्दु संस्कृतिको संरक्षणमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै नवगठित सङ्घलाई शुभकामना दिए ।
नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले संघ गठनको पहलले मधेस क्षेत्रमा हिन्दु समुदायको आवाजलाई बलियो बनाउने विश्वास व्यक्त गरे भने पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनालले सङ्घको गठनले पत्रकारिताको क्षेत्रमा नयाँ आयाम थपिएको उल्लेख गरे ।
प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्रले हिन्दु धर्ममाथि हुने आक्रमणहरूको विरुद्धमा यो सङ्गठनले प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरे । कार्यक्रममा उपस्थित वरिष्ठ पत्रकार राम कुमार सर्राफ र नेपाल प्रेस युनियनका अजय साह लगायतका अतिथिहरूले पनि सङ्घको स्थापनालाई ऐतिहासिक कदम बताउँदै यसले पत्रकारहरूबिच एकता र हिन्दु धर्मको रक्षामा योगदान पुग्ने धारणा राखे ।
भेलामा उपस्थित पत्रकारहरूले सङ्गठनले हिन्दु समुदायका मुद्दाहरूलाई राष्ट्रिय स्तरमा उठान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । नवनिर्वाचित अध्यक्ष राजन रौनियारले सङ्घले पत्रकारिताको मर्यादा कायम राख्दै हिन्दु धर्मको संरक्षणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।



