नारायणी अस्पतालको आकस्मिक कक्ष निर्माणमा ठेक्का अनियमितता : तत्कालीन मेसुसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

Spread the love

बैशाख २१, वीरगञ्ज

वीरगञ्ज, पर्सा — नारायणी अस्पताल, वीरगञ्जमा आकस्मिक कक्ष निर्माणका क्रममा ठेक्का प्रक्रियामा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट (मेसु) सहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै सामग्री खरिद तथा प्रविधिको प्रयोगमा अनियमितता गरी करिब १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बराबरको सरकारी सम्पत्तिमा हानि पुर्‍याइएको पाइएको छ।

मुद्दामा नाम उल्लेख गरिएका अभियुक्तहरूमा तत्कालीन मेसु सञ्जयकुमार ठाकुर, विभागीय इन्जिनियर याजेन्द्र साह, भानुभक्त अन्सारी, लेखापाल मदनकुमार माजी लगायत अन्य कर्मचारीहरू रहेका छन्। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गरिएको छ।

त्यसैगरी, निर्माण कार्यमा संलग्न नभसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रबन्ध निर्देशक जगत घिमिरे र लुम्बिनी-मिशन जेभीका प्रतिनिधि विष्णुप्रसाद शर्मामाथि झूटो प्राविधिक विवरण पेश गरी ठेक्का सम्झौतामार्फत सरकारी रकम हिनामिना गरेको अभियोगमा कारबाही सिफारिस गरिएको छ।

आयोगका अनुसार आकस्मिक कक्ष निर्माणमा प्रयोग हुनुपर्ने M35 ग्रेडको इन्टरलक ब्लकको सट्टा गुणस्तरहीन सामग्री प्रयोग गरिएको प्रमाण भेटिएपछि अनुसन्धान अघि बढाइएको हो।

अख्तियारले दोषीहरूमाथि कानूनअनुसार कडा कारबाही र क्षतिपूर्ति असुलउपरको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Scroll to Top