रास्वपा वीरगन्ज महानगर समितिको प्रथम भेला सम्पन्न, अमन आलमको नेतृत्वमा २५ सदस्यीय समिति चयन

Spread the love

वीरगन्ज , मंसिर २९

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगन्ज महानगर समितिको प्रथम भेला सोमबार वीरगन्जमा सम्पन्न भएको छ। भेलाले अमन आलमको नेतृत्वमा सर्वसम्मत रूपमा २५ सदस्यीय महानगर समिति चयन गरेको छ।

नवगठित समितिको उपसभापतिमा परितोष द्विवेदी चयन भएका छन् भने सचिवमा आस्था गौतम र सहसचिवमा मुना साह सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। रास्वपा पर्साका अध्यक्ष हरि पन्तले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

भेलाले पार्टीका सिद्धान्त, नीति र उद्देश्यहरूलाई स्थानीय तहमा सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। भेलाको उद्घाटन सत्र रास्वपाका केन्द्रीय कार्यवाहक सभापति तथा पूर्वमन्त्री डीपी अर्यालले गरेका थिए।

पर्सा अध्यक्ष हरि पन्तको सभापतित्वमा सम्पन्न भेलामा पार्टीका संगठन विभाग प्रमुख शंकर श्रेष्ठ, केन्द्रीय सदस्य डा. नन्दन यादव, मधेस प्रदेशका महामन्त्री मनिष साह, पर्साका क्षेत्रीय सभापतिहरू राम आर्य, फैयाज आलम, जितेन्द्र मिश्र र मनोज कुमार कुर्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको सञ्चालन रास्वपाका नेता कृष्णा पासवानले गरेका थिए। रञ्जित राम, प्रमोद रायमाझी र सबु कडेंल सम्मिलित निर्वाचन समितिले महानगर समितिको नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो।

Scroll to Top