वीरगञ्ज, ३ पुस जेनजी आन्दोलनका क्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको निजी निवासमा आगजनी गरेको आरोपमा पक्राउ परेका हिन्दुवादी नेता रन्जन सिंह राजपुत रिहा भएका छन्।
अनुसन्धानका लागि बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित हुन बोलाइएका वीरगञ्ज–१० रानीघाटका ४१ वर्षीय राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर सरकार र जेनजी प्रतिनिधिबीच मंसिर २४ गते भएको १० बुँदे सहमतिअनुसार, आन्दोलनमा सहभागी भएकै आधारमा प्रहरी थुनामा नराखिने व्यवस्था रहेकाले जिम्मा जमानीमा उनलाई रिहा गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए।
उपरीक्षक पाठकका अनुसार नेपाल राजपत्रमा प्रकाशित उक्त सहमतिमा आवश्यक परे बयानका लागि बोलाउन सकिने तर थुनामा नराख्ने प्रावधान छ। “कानुनको पालना गर्दै राजपुतलाई रिहा गरिएको हो, मुद्दा टुंगिएको भने होइन,” उनले भने। बयानका लागि उनलाई फेरि बोलाउन सकिने पनि प्रहरीले जनाएको छ।मेयर सिंहको वीरगञ्ज–३ स्थित घरमा भदौ २४ गते आगजनी भएको घटनामा संलग्न रहेको आरोप लगाउँदै मेयर सिंहले राजपुतसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।
सोही आधारमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बिहीबार बिहान राजपुतलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।राजपुतको रिहाइको माग गर्दै बिहीबार दिउँसो जेनजी र हिन्दुवादी युवाहरूले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि टायर बालेर प्रदर्शन गरेका थिए। उनीहरूले राजपुत निर्दोष रहेको दाबी गर्दै तत्काल बिना शर्त रिहा नगरिए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए।भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा वीरगञ्जका विभिन्न स्थानमा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भएका थिए। ती घटनामा वीरगञ्ज महानगरपालिकाको कार्यालय, वडा नम्बर १०, १४ र २६ का कार्यालय, रानीघाट प्रहरी चौकी, घण्टाघरस्थित अस्थायी प्रहरी पोस्ट, शिव–पार्वती मठ, आन्तरिक राजस्व कार्यालय, नेपाल टेलिकम कार्यालय तथा नेपाली कांग्रेस र नेकपा एमालेका पार्टी कार्यालयहरूमा क्षति पुगेको थियो।
त्यसै दिन मेयर राजेशमान सिंहसहित पूर्वमन्त्रीहरू प्रदीप यादव, अजय चौरसिया, राजकुमार गुप्ता, मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको निजी घरमा पनि तोडफोड, आगजनी र लुटपाट भएको थियो।



