वीरगञ्ज, पुस ५ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन छात्रा तथा जुनियर छात्र नकआउट क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार एकै दिन पाँचवटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्।
प्रतियोगिताको पहिलो खेल केटातर्फ मिनिल्यान्ड र मालिनीबीच भएको थियो, जसमा मिनिल्यान्डले मालिनीलाई ६ रनले पराजित गर्दै विजयी सुरुवात गर्यो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेकी स्मृति कृ भुलाम ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
त्यसैगरी केटीतर्फ सम्पन्न दोस्रो खेलमा साउथ जोन र माउन्ट मकालुबीच प्रतिस्पर्धा भएको थियो। खेलमा अल्पाइनले प्रभावशाली प्रदर्शन गर्दै ६० रनको फराकिलो अन्तरले जित हात पार्यो। उक्त खेलको ‘प्लेयर अफ द म्याच’ रिफ्रेसमेन्ट ११,००० (अमित, राहुल र आलोक साह) प्रदान गरिएको थियो।
तेस्रो खेल केटातर्फ मानकामना र सन साइनबीच सम्पन्न भएको थियो। मानकामनाले सन साइनलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो स्थान मजबुत बनाएको छ। सो खेलमा ओसिम आलम ‘प्लेयर अफ द म्याच’ घोषित भए।
चौथो खेल केटीतर्फ जीवन ज्योति र सन लाइटबीच भएको थियो। जीवन ज्योतिले सन लाइटलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै शानदार जित दर्ता गर्यो। उक्त खेलमा सलोनी कलवार उत्कृष्ट खेलाडी घोषित भइन्।
त्यसैदिन सम्पन्न पाँचौँ तथा अन्तिम खेल केटातर्फ सन लाइट र एस.आर. ग्यालेक्सीबीच भएको थियो। एस.आर. ग्यालेक्सीले सन लाइटलाई ९ विकेटले पराजित गर्दै सहज जित निकाल्यो। उक्त खेलको ‘प्लेयर अफ द म्याच’ चन्दन यादव घोषित भए।
प्याब्सन वीरगञ्जका सचिव अमित आलोकका अनुसार विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै शारीरिक तथा मानसिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। विद्यालयस्तरमै खेलकुद संस्कृतिको विकास गर्न यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।



