वीरगन्ज , फाल्गुन १८
निर्वाचनको मिति नजिकिँदै जाँदा वीरगन्ज को राजनीतिक वृत्त झन् रोचक बन्दै गएको छ। यही क्रममा वीरगन्ज महानगरपालिका वडा नं. ८ का साजन महरा, ध्रुव महरा, राहुल महरा लगायत करिब २०० जना युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सामूहिक रूपमा प्रवेश गरेका छन्।
गहवा क्षेत्रका ‘जेन्जी’ (Gen Z) युवाहरूको यो संगठित प्रवेशलाई स्थानीय राजनीतिमा अर्थपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। परम्परागत दलहरूप्रति बढ्दो असन्तुष्टि र नयाँ राजनीतिक विकल्पको खोजीमा युवाहरू सक्रिय रूपमा अघि बढेको यस घटनाले संकेत गर्छ।
विशेषगरी आगामी चुनावी समीकरण र संगठन विस्तारका दृष्टिले यसले हरि पन्त को राजनीतिक धरातललाई थप मजबुत बनाएको देखिन्छ। स्थानीय तहमा पन्तले बनाएको प्रभाव र रास्वपाको एजेन्डाले युवा पुस्तालाई आकर्षित गर्न सफल भएको स्पष्ट संकेत यो प्रवेश अभियानले दिएको छ।
मधेस प्रदेशमा, विशेष गरी व्यापारिक तथा राजनीतिक केन्द्रका रूपमा परिचित वीरगन्जमा यसरी युवाहरूको व्यापक साथ पाउनु रास्वपाका लागि महत्वपूर्ण सांगठनिक उपलब्धि मानिएको छ। यस घटनाले आगामी दिनमा स्थानीय मुद्दाहरूमा रास्वपाको उपस्थितिलाई अझ प्रभावकारी बनाउँदै पन्तको नेतृत्वदायी भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।


