वीरगञ्ज , चैत्र ३
सशस्त्र प्रहरी गण नं. १३ पर्सा, वीरगञ्ज तथा वीरगञ्ज हेल्थ केयर अस्पतालको समन्वय तथा सहयोगमा पर्सा जिल्लाका विभिन्न गाउँपालिकामा रहेका शारीरिक रूपमा अपाङ्गता भएका चार जना व्यक्तिलाई घरमै पुगेर ह्विलचेयर प्रदान गरिएको छ।
गण नं. १३ का गणपति एसपी मोहन बहादुर क्षेत्रीको पहलमा हिँडडुल गर्न नसक्ने अवस्थाका व्यक्तिहरूको पहिचान गरी उनीहरूकै घरमा पुगेर ह्विलचेयर हस्तान्तरण गरिएको हो।
जिराभवानी गाउँपालिका–१ पकडीटोला निवासी ६२ वर्षीय प्रेम चौधरी गाईबस्तुका लागि घाँस काट्ने क्रममा रुखबाट लडेर स्पाइनल कर्ड इन्जुरी भएपछि पूर्ण रूपमा शारीरिक रूपमा अपाङ्ग भएका छन्। विगत दुई वर्षदेखि ओछ्यानमै बस्न बाध्य भएका चौधरीको अवस्था थाहा पाएपछि गणपति क्षेत्रीले घरमै पुगेर उनलाई ह्विलचेयर सहयोग गरेका हुन्। चौधरीको परिवार उनकी श्रीमतीले अरूको घरमा काम गरेर कष्टपूर्वक गुजारा चलाउँदै आएका छन्।
त्यसैगरी जिराभवानी गाउँपालिका–२ सेढवा निवासी ३५ वर्षीय विनोद दास थारु जन्मजात नै तल्लो भाग चल्न नसक्ने अवस्थाका कारण हिँडडुल गर्न असमर्थ छन्। उनलाई पनि घरमै पुगेर ह्विलचेयर प्रदान गरिएको छ।
यस्तै धोबनी गाउँपालिका–५ धोबनीका ४२ वर्षीय मनबोध चौधरी मलाह रोगका कारण अपाङ्ग भई हिँड्न नसक्ने अवस्थामामा पुगेका छन्। उनलाई पनि सशस्त्र प्रहरीको टोलीले घरमै पुगेर ह्विलचेयर उपलब्ध गराएको छ।
बिन्दबासिनी गाउँपालिका–३ झौवा निवासी १० वर्षीय आलोक कुमार राम जन्मजात अपाङ्ग भएका कारण हिँडडुल गर्न असमर्थ रहेका छन्। उनलाई पनि घरमै पुगेर ह्विलचेयर सहयोग गरिएको छ।
ह्विलचेयर हस्तान्तरण कार्यक्रममा सशस्त्र प्रहरी गण नं. १३ का गणपति एसपी मोहन बहादुर क्षेत्री, बोडर आउटपोस्ट महादेवपट्टीका प्रमुख हरीचन्द्र खड्का, सामाजिक अभियन्ता प्रकाश थारु, सम्बन्धित वडाका अध्यक्षद्वय रामशरण खवास र मनौवर अहमद तथा स्थानीय रामसुरत प्रसाद कुर्मी, औरंगजेब अहमद लगायत भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी गण नं. १३ ले यसअघि पनि दूरदराजका गाउँबस्तीमा पुगेर असहाय तथा विपन्न व्यक्तिहरूलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको जनाएको



