वीरगञ्ज । नेपाल मौसम विज्ञान विभागले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले विशेष मौसम बुलेटिनलाई आधार बनाउँदै वर्षाका कारण बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार उत्तर अण्डमान सागर आसपास विकसित न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै जाने क्रममा रहेको छ।
मौसम प्रणालीको प्रभावले मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ।
प्रशासनले अत्यन्त जरुरी नभएसम्म निभाई–टाढा र रातिको समयमा यात्रा नगर्न, खोला तथा नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन र अचानक बाढी आउन सक्ने खोला, खहरे, नदी किनार तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
यस्तै, वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ११४९, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ नम्बरमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ। सर्वसाधारणलाई मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायबाट जारी हुने पूर्वानुमान, पूर्वसूचना र चेतावनीका सूचनाहरू नियमित रूपमा हेर्नसमेत अनुरोध गरिएको छ।



