वीरगञ्ज , असोज १६
नेपाली कांग्रेस पर्साका पूर्वसभापति एवं पूर्वसभासद अजय द्विवेदी पार्टीको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छैनन्। पर्सा क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनबाट छनोट भएका महाधिवेशन प्रतिनिधिको सूचीमा द्विवेदीको नाम परेको छैन।
क्षेत्रीय प्रतिनिधिहरूबीच भएको सहमति र भागबन्डाका आधारमा प्रतिनिधि चयन गरिएको र द्विवेदीले अन्य कार्यकर्तालाई अवसर दिन आफू प्रतिनिधि नबन्ने सहमति जनाएको निवर्तमान क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधि अरबिन्द गुप्ताले बताएका छन्।
तर द्विवेदीले भने आफूले पार्टीका ज्येष्ठ तथा पुराना नेता ब्रह्मदेव राउतलाई महाधिवेशन प्रतिनिधि बनाउन आफ्नो दाबी छाडेको बताएका छन्। सबैलाई समेटेर अघि बढ्नुपर्ने भएकाले आफूले यसपटक प्रतिनिधि नबन्ने निर्णय गरेको उनको भनाइ छ।
द्विवेदी महाधिवेशन प्रतिनिधि नबनेपछि पर्सा कांग्रेसभित्र भने विभिन्न चर्चा र अड्कलबाजी सुरु भएको छ। द्विवेदीनिकट मानिएका निवर्तमान क्षेत्रीय सभापति अरबिन्द गुप्ता यसपटक पनि क्षेत्रीय सभापतिका उम्मेदवार थिए। तर क्षेत्रीय सभापतिमा अनिल सिंह निर्वाचित भएका छन्।
गुप्तासँग क्षेत्रीय सभापतिमा सहमति बन्न नसकेको कारण द्विवेदीले पनि महाधिवेशन प्रतिनिधिमा दाबी नराखेको हुन सक्ने केही कार्यकर्ताको अनुमान छ। यद्यपि, यसबारे कुनै औपचारिक पुष्टि भएको छैन। द्विवेदीले भने अन्य नेताकार्यकर्तालाई अवसर दिनकै लागि आफूले प्रतिनिधिको दाबी छाडेको स्पष्ट पारेका छन्।
क्षेत्रीय अधिवेशनमा भएको सहमति, नेतृत्व चयन र त्यसपछि बनेको समीकरणले पर्सा कांग्रेसभित्रको आन्तरिक शक्ति–सन्तुलनबारे चर्चा बढाएको छ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि छनोट प्रक्रिया जारी छ।


