पर्सा ,असोज १५
वीरगञ्जस्थित मानवसेवा आश्रमले फेरि एक पटक उदाहरणीय कार्य सम्पन्न गरेको छ । असोज १४ गते मंगलबार बेलुकी ५:२३ बजे वीरगञ्जको नारायणी अस्पतालमा एक जना अन्दाजी ३० वर्षीया महिलाले छोरीलाई जन्म दिनुभएको थियो ।
उक्त महिला असोज ११ गते शनिबार राति ९ बजे वडा प्रहरी कार्यालयका प्र.स.नि. भुलेन्द्र गिरि र मानवसेवा आश्रम वीरगञ्ज शाखाका अभिभावक एवं सामाजिक अभियन्ता प्रकाश थारु द्वारा आश्रममा ल्याइएका थिए । उहाँले आफ्नो नाम–थर प्रष्ट भन्न नसकेको र मानसिक अवस्था कमजोर रहेको कारण आश्रमले सुरक्षित रुपमा संरक्षण गर्दै आएको थियो ।
नानी जन्मिएपछि फेसबुक, पत्रपत्रिका, अनलाइन मिडिया तथा रेडियो मार्फत समाचार सार्वजनिक भएपछि महिलाको परिवारले खबर पाए । त्यसपछि असोज १५ गते बुधबार बिहान ८ बजे ती महिलाकी सासु पाना देवी चमार र ससुरा सम्भु राम चमार पर्सागढी नगरपालिका–५, झिंग्नीबाट वीरगञ्ज नारायणी अस्पताल आइपुगेर आफ्नो बुहारी र नातिनीलाई भेटेर घर लगेका हुन् ।
सासु–ससुराले भनेका छन्, “हाम्रा छोरा राम कारण राम पहाडमा ट्रयाक्टर चलाउने काममा छन् । बुहारी पुनिता देवी राम मानसिक रुपमा कमजोर भएकै कारण घरबाट निस्किएकी थिइन् । धेरै खोज्दा पनि नभेटिएपछि गाउँकै एक जनाले फेसबुकमा समाचार देखाएर बिरगञ्ज अस्पतालमा भएको जानकारी दिएपछि लिन आएका हौँ ।”
यो पुनर्मिलनलाई सफल बनाउन मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, आश्रमका अभिभावक–सामाजिक अभियन्ता प्रकाश थारु, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीकी अध्यक्ष एवं सामाजिक अभियन्ता पिया सिंह, अस्पताल OCMC की फोकल पर्सन हेमा थापा, सामाजिक व्यक्तित्व सन्तोष पटेल, पिन्टु रौनियार, आश्रमका स्वयंसेवक बिकाश माली, संगीता परियार, प्रहरी जवान नगेश्वर यादव र दिपेन्द्र चौधरी लगायतको उल्लेखनीय उपस्थिति थियो ।
आश्रम परिवारले सम्पूर्ण पत्रकार, सामाजिक सञ्जाल प्रयोगकर्ता र समाचार सेयर गरी सहयोग गर्ने सबैप्रति विशेष आभार प्रकट गरेको छ । मानवसेवा आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ताले भन्नुभयो, “तपाईँहरुको सहयोगकै कारण आज एक आमा, नातिनी र परिवारबीच पुनर्मिलन सम्भव भएको छ ।”



