वीरगञ्ज , चैत्र ६
समाज सेवामा सक्रिय संस्था उपकार सेवा नेपाल र कुइन् जेवेलस प्रा ली को संयुक्त आयोजनामा वीरगञ्ज महानगरपालिका–११, श्रीपुरमा अपाङ्गता भएका व्यक्तिहरूलाई व्हीलचेयर हस्तान्तरण गरिएको छ।
दैनिक आवतजावतमा कठिनाइ भोगिरहेका व्यक्तिहरूको जीवन सहज बनाउने उद्देश्यले गरिएको यस कार्यक्रमलाई सानो भए पनि अत्यन्त अर्थपूर्ण पहलका रूपमा लिइएको छ। व्हीलचेयर सहयोगले लाभग्राहीहरूलाई हिँडडुलमा सहजता मिल्नुका साथै आत्मनिर्भर बन्न टेवा पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा विभिन्न समाजसेवीहरूको उल्लेखनीय सहयोग रहेको थियो। सहयोगीहरूमा विन्ध्या देवी सरावगी, प्रकाश थारु, अमर सर्राफ, प्रज्वल मान डंगोल तथा दीपु बर्न्वाल रहेका छन्। उनीहरूको आर्थिक तथा भौतिक सहयोगले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
यस अवसरमा उपकार सेवा नेपालले यस्ता निस्वार्थ सामाजिक कार्यहरू मार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
व्यावसायिक संस्था कुइन् जेवेलस र सामाजिक संस्था उपकार सेवा नेपालबीचको सहकार्यलाई समाजका वास्तविक समस्या समाधान गर्ने उत्कृष्ट उदाहरणका रूपमा लिइएको छ। कार्यक्रममा सहभागीहरूले समाजका हरेक नागरिकले आफ्नो क्षमता अनुसार यस्ता मानवीय कार्यमा योगदान दिनुपर्ने आवश्यकता औंल्याएका थिए।



