वीरगन्ज मेलामा युवाको मृत्यु , पहिचान खुल्यो

Spread the love

वीरगन्ज, १५ असोज 

 वीरगन्जमा लागेको दशैं मेलामा मंगलबार राति युवाहरूबीच भएको कुटपिटमा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–१० मा डेरामा बस्दै आएका करिब २२ वर्षीय शिवम साह कानु (गोल्डेन खान) रहेका छन्। मृतकका बुबा हिन्दु र आमा मुस्लिम भएको प्रहरी स्रोतले जनाएको छ। कानु पेशाले ई–रिक्सा चालक थिए।

मंगलबार राति करिब १२ बजे माईस्थान–गीता मन्दिर जाने बाटोमा मेलामा घुमिरहेका युवाहरूबीच विवाद भई कुटाकुट भएको थियो। सो क्रममा कानुलाई बाँसले प्रहार गरिएको प्रहरीले बताएको छ। गम्भीर घाइते उनलाई उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले घटनामा संलग्न व्यक्तिहरूको अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका अनुसार, यो ग्याङ फाइट नभई एक व्यक्तिलाई लक्षित गरेर भएको आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

Scroll to Top