वीरगञ्ज , असोज ११
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिकासहित पर्साका विभिन्न पालिकामा पार्टीका तर्फबाट उम्मेदवार तय भइसकेको भन्दै सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति ध्यानाकर्षण जनाएका छन्।
पन्तले सामाजिक सञ्जालमार्फत वीरगञ्ज महानगरपालिकालगायत विभिन्न पालिकामा रास्वपाका तर्फबाट मेयर, उपमेयर तथा वडाध्यक्षलगायत पदमा उम्मेदवारका रूपमा टिकट पाइसकेको भन्दै भइरहेको प्रचार आधिकारिक नभएको बताएका हुन्।
उनले रास्वपाको उम्मेदवार चयनका लागि पार्टीको आफ्नै विधि र प्रक्रिया रहेको उल्लेख गर्दै आधिकारिक निर्णयअघि सामाजिक सञ्जालमा भइरहेका प्रचारमा विश्वास नगर्न आग्रह गरेका छन्।
“राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार चयनको आफ्नै विधि र प्रक्रिया रहेको हुँदा त्यस्ता गलत र भ्रामक प्रचार गर्ने व्यक्तिहरूको पछि नलाग्न जानकारी गराउँदछौँ,” पन्तले सामाजिक सञ्जालमा लेखेका छन्।
उनका अनुसार पार्टीको आधिकारिक निर्णय तथा निर्धारित प्रक्रिया पूरा नभई आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्ने वा अरूको नाममा प्रचार गर्ने गतिविधिले भ्रम सिर्जना गर्न सक्छ। गलत, भ्रामक तथा कपोलकल्पित अफवाह फैलाउने गतिविधिमा संलग्न हुनेलाई पार्टीको विधि र प्रक्रियाअनुसार कारबाही हुन सक्ने उनले बताएका छन्।
रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ‘क्यान्डिडेट क्लब’मार्फत प्रक्रिया अघि बढाएको छ। पार्टीले सार्वजनिक गरेको प्रक्रियाअनुसार आकांक्षीले क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्ने, त्यसपछि लिडरसिप एकेडेमी प्रशिक्षण तथा अन्य मूल्यांकन र छनोटका चरण पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैबीच, पर्सामा केही नेता–कार्यकर्ताले आफूले प्रत्यक्ष रूपमा केन्द्रीय नेताहरूबाट आगामी स्थानीय निर्वाचनमा टिकट पाउने आश्वासन पाएको दाबी गर्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रचार गरिरहेको स्रोतको भनाइ छ।


