वीरगञ्ज , २७ फागुन २०८२
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले शैक्षिक सत्र २०८२/०८३ का प्रथम वर्षका नवप्रवेशी विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कलेजको लेक्चर थिएटर–१ मा आयोजना गरिएको थियो।

एमबीबीएस, बीडीएस, बी.एस्सी. नर्सिङ, बीएनएस, बीएमएलटी तथा बीएमआईटी कार्यक्रमका नयाँ विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा कलेजको शैक्षिक वातावरण, नियम–कानुन, अध्ययन प्रणाली तथा चिकित्सकीय पेशाको जिम्मेवारीबारे जानकारी गराइएको थियो। साथै विद्यार्थी, अभिभावक र कलेजका प्राध्यापक तथा कर्मचारीबीच परिचयात्मक वातावरण पनि सिर्जना गरिएको थियो।
कार्यक्रम नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के. एन. सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका अध्यक्ष प्रा. डा. जैनुदिन अन्सारी प्रमुख अतिथि तथा प्रबन्ध निर्देशक शहनवाज अन्सारी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमको सुरुवात राष्ट्रिय गानसँगै गरिएको थियो भने पानस प्रज्वलन गरी औपचारिक उद्घाटन गरिएको थियो। त्यसपछि नवप्रवेशी विद्यार्थी, अभिभावक तथा प्राध्यापकहरूले आ–आफ्नो परिचय प्रस्तुत गरेका थिए। सो अवसरमा प्रा. डा. रवि शंकर गुप्ताले विद्यार्थीहरूलाई शपथ ग्रहण गराउनुभएको थियो।
कार्यक्रममा अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, एडमिसन तथा मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारी र एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठलगायतले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूलाई अनुशासन, समर्पण र मानव सेवाको भावनासहित अध्ययनमा अग्रसर हुन प्रेरित गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा प्रबन्ध निर्देशक शहनवाज अन्सारीले धन्यवाद ज्ञापन गर्दै नवप्रवेशी विद्यार्थीहरूको सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गर्नुभयो।
नेशनल मेडिकल कलेजले गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्दै स्वास्थ्य सेवा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ।



