पथलैयामा येले सम्वत ५०८६ को उभौली साकेला पर्व भव्य रूपमा सम्पन्न

Spread the love

वीरगञ्ज , वैशाख १९ 

किराँत राई समुदायले येले सम्वत ५०८६ को उभौली साकेला पर्व बारा जिल्लाको पथलैया स्थित किरात भूमिथानमा भव्य रूपमा मनाएका छन्। किरात राई यायोक्खा जिल्ला कार्यसमिति बारा र पर्साको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा समुदायका अगुवा, विभिन्न जिल्लाका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रम किरात राई यायोक्खा जिल्ला कार्यसमिति बाराका अध्यक्ष सुरेश राईको अध्यक्षता तथा केन्द्रीय सदस्य जगत राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले किराँत राई समुदायको मौलिक संस्कार, संस्कृति तथा परम्पराको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।

उनले राई समुदाय प्रकृतिपूजक समुदाय भएकाले जल, जमिन, हावापानी, माटो र बिरुवालाई सम्मान गर्दै आएको उल्लेख गर्दै उभौली पर्वको ऐतिहासिक महत्वबारे पनि प्रकाश पारे। उनका अनुसार गर्मीयाम सुरु भएसँगै चराचुरुङ्गी तराईबाट पहाडतर्फ जाने तथा अन्नबाली रोप्ने समयको संकेतस्वरूप उभौली पर्व मनाउने परम्परा रहिआएको छ।

वैशाख पूर्णिमादेखि सुरु हुने उभौली साकेला पर्व १५ दिनसम्म मनाइने परम्परा रहेको बताउँदै उनले विभिन्न भेषभूषामा सजिएर साकेला नाच प्रस्तुत गर्ने, चराचुरुङ्गी तथा वन्यजन्तुको शैलीमा नृत्य गर्दै झाँकी प्रदर्शन गर्ने चलन रहेको जानकारी दिए।

त्यसैगरी किरात राई यायोक्खाका वरिष्ठ सल्लाहकार दिनेश राईले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक देश भएकाले राई समुदायको भाषा, संस्कृति, रहनसहन र परम्परालाई राज्यले संरक्षण गर्नुपर्ने धारणा राखे। उनले राई समुदायको छुट्टै पहिचान र इतिहासलाई राज्यले सम्मान गर्नुपर्ने बताए।

कार्यक्रममा किराँत राई यायोक्खा जिल्ला कार्यसमिति पर्साका कार्यवाहक अध्यक्ष चन्द्रबान्तवाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

उभौली साकेला कार्यक्रममा किरात राई यायोक्खा बाराका वरिष्ठ सल्लाहकार भुवान राई, उपाध्यक्ष पुष्प राई, सचिव सपना राई, सदस्यहरू निर्मला राई, मिलन राई, ज्ञानबहादुर राई, सर्वधन राई तथा पर्साका कोषाध्यक्ष तारा श्रेष्ठ राई, सदस्यहरू सिंहबहादुर राई, इसीका राई, देवीक्षा राई, झुमा राई लगायत विभिन्न समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नाक्छुङ कृष्णबहादुर राईले मुन्दुम वाचनमार्फत समुदायलाई आशीर्वाद प्रदान गरेका थिए।

Scroll to Top