वीरगञ्जमा निःशुल्क दन्त स्वास्थ्य जाँच शिविरको आयोजना — जनस्वास्थ्य प्रवर्द्धनतर्फ जेसीजको महत्वपूर्ण पहल

Spread the love

वीरगञ्ज, ०१ जेठ 

 समाजसेवा र जनस्वास्थ्य प्रवर्द्धनमा अग्रसर संस्था वीरगञ्ज जेसीजले यही जेठ ३ गते, शनिबार (१७ मे २०२५) मा निःशुल्क दन्त स्वास्थ्य जाँच शिविर आयोजना गर्ने भएको छ।

उक्त शिविर वीरगञ्जको अमर चोकस्थित समाज सेवा समितिको भवनमा बिहान ७:०० बजे देखि १०:०० बजे सम्म सञ्चालन हुनेछ। शिविरमा अनुभवी तथा प्रसिद्ध दन्त चिकित्सक डा. मनोज उपाध्याय र सुश्री प्रियांशा पौडेलद्वारा सेवा प्रदान गरिनेछ।

जेसीजका अनुसार, शिविरको मुख्य उद्देश्य समुदायमा मौखिक तथा दन्त स्वास्थ्यप्रति चेतना फैलाउनुका साथै रोगको प्रारम्भिक अवस्था पहिचान गरी दीर्घकालीन जटिलता हुनबाट बचाउनु हो।

वीरगञ्ज जेसीजका अध्यक्ष सरोज चौरसियाले भने, “स्वस्थ जीवनको आधार स्वस्थ दाँत र मुख पनि हो। जनस्वास्थ्यमा सकारात्मक योगदान पुर्‍याउने आशयले हामीले यो शिविर आयोजना गरेका हौं। सर्वसाधारणले सहजै विशेषज्ञ चिकित्सकको सेवा लिन सकून् भन्ने हाम्रो मुख्य उद्देश्य हो।”

दन्त रोगहरू प्रारम्भिक अवस्थामा लक्षणविहीन रहन सक्ने भएकाले समयमा नै जाँच गराउनु अत्यन्त आवश्यक रहेको चिकित्सकहरू बताउँछन्। यस्तो शिविरहरू जनस्वास्थ्यका लागि प्रभावकारी हुने विज्ञहरूको मत छ।

आयोजकले इच्छुक सबैलाई समयमै उपस्थित भइ निःशुल्क सेवा लिन आग्रह गरेको छ। साथै, आफन्त, छिमेकी तथा साथीहरूलाई जानकारी गराई सहभागी गराउन समेत अनुरोध गरिएको छ।

यस किसिमका सामाजिक उत्तरदायित्वमूलक क्रियाकलापले समाजमा स्वास्थ्यप्रति चेतना बढाउने विश्वास आयोजकले लिएको छ।

Scroll to Top